सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली बलरको शानदार प्रदर्शन

२०८१ असार ३, ०७:१६ खबर संवाददाता

काठमाडौँ: टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ। समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो।

बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे। उनले यस क्रममा २ चौका प्रहार गरे। त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए। उनले पनि दुई चौका प्रहार गरे। रिसाद होसेनले ७ बलमा १३  रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।

जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, तास्किन अहमदले पनि १२ रन तथा ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए। नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन्। अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन्। 

४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए। यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए। कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे। दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए। उनले मात्र २२ रन खर्च गरे। सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए। उनले १० रन मात्र दिएका थिए। 

कमेन्ट लोड गर्नुस