फाप्ला क्रिकेट रङ्गशाला निर्माण गर्न डिपीआर बन्दै, धनगढीमा खेलकुद मन्त्रीसँग छलफल
धनगढीः कैलालीस्थित धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठसँग छलफल गरिएको छ। रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)को प्रगतिको बारेमा खेलकुद मन्त्री श्रेष्ठसँग छलफल भएको हो।
नेपाल सरकारले पूर्वाधार विकास निर्माण समिति गठन गरेर डिपीआर र इआइएको काम थालेका बेला मन्त्रीसहितको टोली मङ्गलवार धनगढी आएको थियो। युवा तथा खेलकुद मन्त्री श्रेष्ठ, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, समितिका पदाधिकारी तथा कर्मचारीसहितको बैठक मङ्गलवार बसेको हो।
चालु आर्थिक वर्ष भित्र नै डिपीआर र ईआइएको काम पूरा हुने युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई समितिले भनेको छ। डिपीआर र ईआइएका लागि टेन्डर स्वीकृत भएर काम थालिएको मन्त्रीलाई समितिले भनेको हो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीका अनुसार डिपीआर र इआइएको प्रगतिका विषयमा छलफल भएको छ। शाहीले चालु आर्थिक वर्षमा डिपीआर निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा हुने बताएका छन्।
चालु आर्थिक वर्षमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो। आगामी आर्थिक वर्षका लागि एक करोड ७५ लाख विनियोजन गरिएको छ। चालु र पुँजीगत दुबै तिरको गरेर एक करोड ७५ लाख बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको हो। तर, शाहीले डिपीआर र इआइए स्वीकृत भएपछि रङ्गशाला निर्माणका लागि बजेटको अभाव नहुने दाबी गरेका छन्। उनले भने, ‘डिपीआरको काम हुँदैछ। डिपीआरको काम पूरा भएपछि लगानीको विषय खुल्ने हो। अहिलेसम्म डिपीआरको काम सकिएको छैन। डिपीआर तयार भएपछि सरकारसँग बजेट माग गर्छौ। अन्तरराष्ट्रिय स्तरबाट पनि बजेटको जोहो गर्छाै।’ उनले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि स्रोत सुनिश्चितताको काम समेत जारी रहेको बताएका छन्।
ड्रिम फाप्ला अभियानको क्रममासमेत यसको विस्तृत योजना (मास्टर प्लान) बनाइएको थियो। तर, नेपाल सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामात्रै नभई खेलग्राम नै बनाउने निर्णय गरेपछि पहिले बनेको मास्टर प्लानभन्दा केही भिन्न रूपमा संरचना निर्माण गर्न नयाँ डिपीआर निर्माण थालिएको हो। खेलग्रामभित्र क्रिकेट रङ्गशालासहित अन्य संरचना बन्ने छन्।
धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा विक्रम संवत् २०७१ सालमा फाप्ला क्रिकेट मैदानको पहिचान गरिएको थियो। त्यसपछि धनगढी उपमहानगरपालिका–३ मा रहेको यही मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउनका लागि २०७२ सालबाट शाहीले नै ड्रिम फाप्ला अभियान सञ्चालन गरेका थिए। पहिलो पटक पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय भएको थियो।