सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

२०८१ जेठ २६, ०४:३१ रासस

कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरेको छ।

आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अर्जुन भट्टले भने, “सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ।  सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण गरेका हौँ।”

महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण गरिएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको बताए।

“यसअघि दोधारा चाँदनी र लालझाडीको विकट बस्तीमा विशेषज्ञ चिकित्सकको स्वास्थ्य शिविर आयोजना गरेका थियौँ।” अध्यक्ष भट्टले भने, “सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ।” महाकाली अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले दाताको भरमा सञ्चालन भइरहेको अनाथालयमा अस्पतालले औषधि उपचार गरिदिँदा थप सहयोग पुगेको बताए। 
 

कमेन्ट लोड गर्नुस