सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानी–राजकाँडा केबुलकार २ वर्ष भित्र सञ्चालनमा आउने

२०८१ जेठ २४, ०२:५८ कमल सावद

धनगढीः कैलालीको चिसापानी–राजकाँडा केबुलकार २ वर्ष भित्र सञ्चालनमा आउने भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म २ वर्ष भित्र केबुलकार सञ्चालनमा ल्याउने दाबी गरिएको हो।

कैलालीको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केबुलकार निर्माणको काम सुरु गरिएको थियो। कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको थियो। हाल केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख तथा पोलहरू काटिएका छन्। कम्पनीले रुखहरू काटेर काठ तथा दाउरा वन कार्यालयको जिम्मा लगाउने छ।

जाल्पादेवी केवलकार कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबारको काम जारी छ। हालसम्म एक दशमलव पाँच किलोमिटर क्षेत्रमा पर्खाल निर्माणको काम पूरा भएको छ। चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्‍टामा दिएको छ।

कम्पनीले राजकाडाँसम्म जान सडक र राजकाँडामा खानेपानीका लागि काम गर्दै छ। केबुलकार सञ्चालनका लागि तयार पारिएको विस्तृत योजना प्रतिवेदन (डिपीआर) संशोधनको काम अहिले जारी रहेको छ। पाँच तारे होटेलसहितका भौतिक संरचनाहरू निर्माणको काम जारी हरेपनि २ वर्षमा केबुलकार सञ्चालनमा ल्याउने योजनामा कम्पनी रहेको छ। जाल्पादेवी केबुलकार कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले २ वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताए। उनले भने, ‘रुख कटानीको काम सकिएको छ। हाल पर्खाल निर्माण, सडक निर्माण र खानेपानीको काम हुँदैछ। डिपीआर संशोधन गर्दैछौ। २ वर्ष भित्रमा केबुलकार सञ्चालनमा ल्याउने योजना छ। अन्य संरचनाहरू निर्माण हुँदै जान्छन्।’

प्राकृतिक रूपमा निकै सुन्दर राजकाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध रहेको छ। सडक यातायात नपुगेकाले कम्पनीले काम गर्दै छ। कम्पनीले साइकल यात्रीका लागि समेत छुट्‍टै योजना बनाएको छ। कम्पनीले तीन दशमलव एक किलोमिटरमा केबुलकार सञ्चालनको तयारी गरेको हो। जाल्पा केवलकार कम्पनीले सात अर्ब केबुलकारसहितका एक पाँच तारे होटेल, एक तीन तारे होटेल, एक सेमिनार हल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुल, पार्कहरू लगायतका संरचनाहरू निर्माणमा खर्च गर्ने योजना बनाएको छ। थापाले भने, ‘राजकाडाँमा क्यासिनोसहितको पाँच तारे होटेल सञ्चालनमा आउने छ। पार्टी प्यालेससहित पार्कहरू निर्माण गर्ने छौ। २५० रोपनी जग्गा छ। चिसापानीमा १३ बिघा जग्गा छ। चिसापानीमा तीन तारे होटेल, पाँच वटा पार्टी प्यालेस, स्वीमिङ्ग पुलहरु निर्माण गर्ने छौ।’

चिसापानीबाट केबुलकारमा राजकाँडा पुग्न करिब २० मिनेट लाग्ने छ। केबुलकारमा भ्रमण गर्ने पर्यटकले सो २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी कम्पनीको छ। पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ति, दरवार, गुफा व्यवस्थीत गर्ने योजनामा कम्पनी रहेको छ। राजकाडाँमा प्राकृतिक चिकित्सालयको योजनासमेत बनाइएको छ। मोहन्याल गाउँपालिका वडा नम्बर ७, राजकाँडा चिसापानीबाट ६ किलोमिटर ठाडो उकालोपछि आउँछ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग थापाले लगानी साझेदारी गरेका छन। केबुलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्। केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको योजनास्थलबाट सुरु हुने केबुलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ। सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केवलकार निर्माण थालिएको हो।

केबुलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ। केबुलकार निर्माणपछि पर्यटन प्रवर्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।

केबुलकार निर्माणका लागि आवश्यक उपकरण अस्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ। केबुलकारको निर्माणसँगै चिसापानीमा तीन तारे र राजकाँडामा पाँच तारे होटेल निर्माण गरिनेछ। आयोजनाको ‘राइट अफ वे’ मा पर्ने रुख कटानी सकिएको छ। चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिनेछ। आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापाले पार्कहरू, फलफूलका बगैचाहरु, राजकाडाँमा प्राकृतिक चिकित्सालय, साइकल लेन, दरबारलाई रङ्गशाला निर्माणको योजना रहेको बताए। उनले भने, ‘डिपीआर संशोधन हुँदैछ। सुरुमा पाँच सय करोडको योजना थियो। हाल सात सय करोडको हुने भएको छ। हामीले योजना थपेका छौ। केवलकार २ वर्ष भित्रमा सञ्चालन हुन्छ। अन्य संरचनाहरू निर्माण हुँदै जान्छन्।’

कम्पनीले राजकाडाँमा दुई सय ५० रोपनी जग्गा खरिद गरेको हो। चिसापानी र केबुलकार सञ्चालन हुने क्षेत्रको २० बिघा नेपाल सरकारसँग ३९ वर्षका लागि भाडामा लिएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस