सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने

२०८१ जेठ १७, १२:०७ खबर संवाददाता

डडेलधुरा : डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति गरिने भएको छ। नेपाल सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको हो।

आर्थिक वर्ष २०८१/८२ को बजेटको बुदा नम्बर १८५ मा डडेलधुरा अस्पतालको क्षमता विकास गरेर पाँच सय शय्यामा स्तरोन्नति गरिनेछ भनिएको छ। अर्थमन्त्री वर्षमान पुनले डडेलधुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्न बजेट विनियोजन गरेको बताएका छन्।

डडेलधुरा अस्पताललाई पाँच सय शय्याको बनाउने माग स्थानीयस्तरबाट पटक पटक उठेको हो। अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियो। डडेलधुरा अस्पताल मेडिकल कलेज भएकाले पनि सो प्रस्ताव पारित भई ४० वटा विभाग र ४० एकाइ रहने व्यवस्था गरिएको छ । अस्पतालमा १२ औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दीको प्रस्ताव गरिएको छ । हाल अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ। दरबन्दी पनि उपक्षेत्रीय अस्पताल सरहको मात्रै स्वीकृत छ। विशिष्ट विशेषज्ञ अस्पताल घोषणा गरिए पनि डडेलधुरा अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले उपचार सेवा पाउन सकेका छैनन्। ।

उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनाइएको छ वर्ष पुगे पनि अधिकांश दरबन्दी खाली छन् । ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट रहने व्यवस्था भए पनि सो पद हालसम्म पूर्ति हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठुलो अस्पतालमा स्तरोन्नति गरी १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । स्वीकृत दरबन्दी अनुसार पनि एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौं र १० औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने थियो। तर, हालसम्म आठौँ तहका मेसुले अस्पताल सञ्चालन हुँदै आएको छ।

२०१८ सालदेखि विभिन्न नामबाट सेवा प्रवाह गर्दै आएको डडेलधुरा अस्पताल अमेरिकी नागरिक डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गरेका थिए। त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको हो। २०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भएको थियो। २०५१ सालमा ५० शय्यामा स्तरोन्नति हुँदै २०७० सालमा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएको थियो।

 

 

कमेन्ट लोड गर्नुस