नेपाली कांग्रेसमा विशेष महाधिवेशन बाहेक विकल्प छैन: गगन थापा
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन गर्न नेताहरू तयार भएपछि आफूले कुनै पनि पदको आकांक्षी नहुन समेत तयार रहेको बताएका छन्।
मंगलबार पुनः सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले नियमित महाधिवेशन गर्न सकिने प्रस्ताव मौखिक रूपमा राखेका थिए। उनले महाधिवेशनमा दुई महामन्त्री उम्मेदवार नहुने शर्त राखे पनि त्यसका लागि आफू तयार रहेको स्पष्ट पारे।
नेताहरूलाई उनले भने, “यो पटक तिमीहरू दुईजनाले महाधिवेशनको रेसमा भाग लिन पाउँदैनौ भने पनि हामी तयार छौं। यसबारे वाचाबन्धन गरेर अगाडि बढाउँ।”
थापाले पुसमा महाधिवेशन गर्ने कार्यतालिका पनि मौखिक रूपमा प्रस्तुत गर्दै, उक्त अवधिमा गर्न नसकिने अवस्था आएमा विशेष महाधिवेशन बाहेक विकल्प नभएको बताए। उनले भने, “कुनै हालतमा पुसमा सकिँदैन भने पनि हामीसँग अर्को विकल्प छैन। महाधिवेशन गर्नु अनिवार्य छ, हामी विधानले बाँधिएका छौं।”
महामन्त्री थापाले पार्टीको गति बढाउन नियमित महाधिवेशन आवश्यक रहेको जोड दिँदै पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्न सकिने प्रस्ताव राखेका छन्।