जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जीवनजल अभाव
धनगढीः जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जीवनजलको अभाव भएको छ। अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जीवनजलको चरम अभाव भएको सूचना अधिकारी नृपराज गिरीले बताए।
जीवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका विरामीले जीवनजल निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता रहेको छ।
जिल्ला अस्पतालबाट बिरामीलाई ९८ प्रकारका औषधी निःशुल्क दिनुपर्ने नियम छ। तर बाजुरा जिल्लाका बिरामीले निःशुल्क उपलब्ध हुनुपर्ने जीवनजल नै किनेर खानुपर्ने बाध्यता आइलागेको छ। निःशुल्क औषधी अन्तर्गत जीवनजल अत्यावश्यक औषधी हो तर एक महिनादेखि बिरामीलाई त्यो पनि दिन नसकेको अस्पतालका सूचना अधिकारी गिरीले बताए। गत वर्ष खरिद गरेको जीवनजल सकिएको र नयाँ खरिद नभएकाले झाडापखालाका बिरामीलाई जीवनजल दिन नसकिएको उनले बताए।
सूचना अधिकारी गिरीका अनुसार अस्पतालमा दैनिक २ सयसम्म बिरामी आउने गरेका छन्। जीवनजल मात्रै होइन निःशुल्क वितरण गर्नुपर्ने ९८ किसिमका औषधी बिरामीलाई दिन समस्या हुने गरेको गिरीको भनाइ छ। सरकारबाट नै निःशुल्क औषधी खरिद गर्न बजेट सिमित आउने भएकाले समय-समयमा विभिन्न औषधीको अभाव हुने गरेको सूचना अधिकारी गरिको भनाइ छ।
'बाजुरा जिल्ला अस्पतालमा एक महिनादेखि जीवनजल सकिएको छ। गत वर्ष निःशुल्क औषधी खरिद गर्न ३० लाख बजेट आएको थियो। त्यो रकमबाट किनेको औषधी वर्षभरि नपुग्ने समस्या छ,' उनले भने, 'सरकारले बजेट कम दिने बिरामीको संख्या हरेक वर्ष बढ्ने भएकाले निःशुल्क औषधी पुगाउन समस्या हुने गरेको छ।'
गत वर्ष सरकारले निःशुल्क औषधी खरिद गर्न बाजुरा जिल्ला अस्पताललाई ३० लाख बजेट दिएकोमा यो वर्ष चार लाख घटाएर २६ लाख मात्रै पठाएको सूचना अधिकारी गिरीले बताए। यो वर्ष खरिदका लागि टेण्डर भइसकेको उनले जानकारी दिए। खरिदको सबै प्रक्रिया पूरा गर्दासम्म बिरामीले निःशुल्क जीवनजल पाउन कम्तिमा १५ दिन तथा बढीमा एक महिनाल कुर्नुपर्ने गिरीले बताएका छन्।
जिल्ला अस्पतालले न्यून बजेटमा ९८ किसिमका औषधी खरिद गरेर वर्षभरी पुगाउनुपर्ने बाध्यता रहेको छ। लागत अनुमान तयार गर्दा औषधी खरिदको मात्रा घटाएर ९८ किसिमका औषधी खरिद गर्नुपर्ने भएकाले मात्रा कम खरिद गर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी गिरीले बताए। २६ लाखको निःशुल्क औषधी वर्षभरी किफायत गरेर पुगाउनु पर्ने बाध्यता अस्पतालको रहेको गिरीले बताए। उनले २६ लाखको औषधी एक महिना पनि नपुग्ने अवस्था रहेको बताएका छन्।