सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फूल खेती गर्दै आएका बिष्ट दम्पती घाँसखेतीमा समेत जम्दै

२०८१ जेठ १६, ०२:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा पुष्प खेती गर्दै आएका शंकर बिष्ट र सुशीला बिष्टको खेतमा घाँसको बिउ समेत तयार हुँदैछ।

बिष्ट दम्पतीले रेड नेपियर, सुपर नेपियर, स्मार्ट नेपियर मक्का क्रस जातको घाँस लगाएका छन्। धनगढी–६ मटियारीमा जग्गा लिजमा लिएर पुष्प व्यवसाय गर्दै आएका उनीहरूले यो वर्षबाट घाँसको बेर्ना उत्पादन गर्न थालेका हुन्। बिष्ट दम्पतीको खेतमा सयपत्री फूल फूलेको, बोट सार्न लागेको देख्न सकिन्छ भने १८ कट्ठा क्षेत्रफलमा नेपियर जातको विभिन्न प्रजातिको घाँसखेती गरिएको छ।

जेठको अन्तिम सातादेखि असारको अन्तिम सातासम्म सार्न मिल्ने घासको बेर्ना अहिले हुर्किरहेको छ। वर्षभरि फूल उत्पादन गरिरहेका बिष्ट दम्पतीले यो वर्षबाट किसानलाई आवश्यक पर्ने घाँसको बेर्ना समेत तयार गर्न थालेका हुन्।
बिष्ट दम्पतीले किसानलाई बिक्री गर्न ८ कट्ठा खेतमा रेड नेपियर, ५ कट्टामा सुपर नेपियर, २ कट्ठामा स्मार्ट नेपियर, एक कट्ठामा मक्का क्रस र दुई कट्ठामा भेटेवर लगाएका छन्।

नेपियर जातको घाँस गाई भैंसी बाख्रा र माछा पालन गर्ने किसानलाई लक्षित गरेर घाँसको बेर्ना तयार पारेको सुशीला बिष्टले बताइन्। ‘नेपियर जातको घाँस लगाएका छौँ। फागुनमा लगाएको घाँस असारसम्म बिक्री भइसक्छ’, बिष्टले भनिन्।
कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहको कृषि र पशु शाखाले किसानलाई घाँसको बेर्ना उपलब्ध गराउने गर्छन्।

बिष्ट दम्पतिले गाई भैंसी र बाख्रा पालन गर्ने किसानलाई सरकारी तहबाट अनुदानमा बेर्ना वितरण गरिने भएकाले कृषि निर्देशनालयको ३५ हजार अनुदानमा नेपियर जातको घाँसको बेर्ना उत्पादन गरेका हुन्। नेपियर जातको घाँस पशुलाई खुवाउदा दानाको आवश्यकता पर्दैन। घाँसमै आवश्यक पोषकत्त्व हुने भएकाले पशु स्वास्थ्य र उत्पादनको  हिसाबले पनि घाँस खुवाउनु राम्रो हुन्छ।

जेठ आन्तिम सातादेखि असार महिनामा सार्न उपयुक्त हुने नेपियर जातको घाँस बर्सादमा महिना दुई पटक र हिउँदमा एक पटक काट्न तयार हुन्छ। एक पटक लगाएको घाँसबाट ८/९ वर्ष उत्पादन लिन सकिने बिष्टले बताइन्। पशुपालन गर्ने किसानका लागि घाँस लगाउदा पशुको आहारामा समस्या नहुने भएकाले बेर्नाको बजार राम्रो रहेको बिष्ट दम्पतीले बताएका छन्।

कमेन्ट लोड गर्नुस