सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेतीको विस्तृत योजना प्रतिवेदनको काम अन्तिम चरणमा

२०८१ जेठ १३, ०७:०५ कमल सावद

धनगढीः भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले गत वर्ष लगानी बोर्ड नेपाललाई पश्चिम सेती जनविद्युत आयोजनाको प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।

गत वर्षबाट भारतीय कम्पनीले पश्चिम सेतीको विस्तृत योजना प्रतिवेदन (डिपीआर)को काम थालेको हो। अहिले डिपीआरको काम अन्तिम चरणमा पुगेको छ। भारतीय प्राविधिकले जलासय, जलविद्युत आयोजना निर्माण स्थल र डाउन स्ट्रीममा रन अफ रिभरको अध्ययनको काम गरेका छन्।

असारसम्म भारतीय कम्पनीले पश्चिम सेती आयोजनाको डिपीआर तयार पारेर लगानी बोर्ड नेपाललाई बुझाउने तयारी गरेको छ। पश्चिम सेती मुल सरोकार समितिका अध्यक्ष रतन साउँदले भारतीय कम्पनीले कार्यालय नै स्थापना गरेर डिपीआरको काम गरेको बताए। उनले भने, ‘सय प्रतिशत काम हुन्छ जस्तो छ।

पहिला गरेको डिपीआरको फेरि डिपीआर हुँदैछ। काम गर्नेहरु स्थानीय छन। प्राविधिकहरु भारतीय मात्र छन्।’ लगानी बोर्डले २१ महिनाभित्र एनएचपीसी इन्डिया लिमिटेडले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न समय दिएको थियो।

भारतीय कम्पनीले एक वर्षमा नै अध्ययनको काम सक्ने दाबी गरेको छ। आयोजनाले ओगटेको क्षेत्रको भौगोलिक अवस्था, सामाजिक व्यवस्थापनको योजना, वातावरणीय अध्ययन लगायतको काम सो कम्पनीले गर्ने छ। डिपीआर स्वीकृत भएपछि मात्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा लाग्ने लगानीको विषय खुल्ने छ।

साउँदले भने, ‘आधा काम सकिएको छ। केही काम बाँकी रहेको छ।’ पश्चिम सेती जलविद्युत आयोजना स्थलमा सव–स्टेसन, राष्ट्रिय प्रसाण लाइन तथा कैलालीको लम्कीदेखि बरेलीसम्म अन्तरराष्ट्रिय प्रसारण लाइन विस्तारको कामसमेत गर्नुपर्ने छ। भारतीय कम्पनीले आयोजना स्थलसम्म जान सडक निर्माणको काम गरेको छ।

कम्पनीले कार्यालय नै स्थापना गरेर डिपीआर निर्माणको गर्दै आएको छ। उनले भने, ‘काम नगर्ने भए, बाटो नखन्नु पर्ने। बाटो खनेका छन। यो पटक भएन भने, पश्चिम सेती कहिलै बन्दैन।’ पश्चिम सेती जलविद्युत आयोजनाको २९ वर्षअघि अध्ययन गरिएको भएपनि भारतीय कम्पनीले फेरि अध्ययन गरेको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ को विकासका लागि एनएचपीसीले लगानी बोर्ड नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस