सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवकलाई अपहरण गर्ने तीन जना पक्राउ

२०८१ मंसिर १०, ०५:५३ खबर संवाददाता

धनगढीः कैलालीमा युवकलाई अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

युवकलाई अपरहरण गरेको आरोपमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी पक्राउ परेका हुन्। उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाँझो घरमा बन्धक बनाएर कुटपिट गरेका थिए। बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र केदारस्युँ गाउँपालिका–६ का १७ वर्षीय किशोर कुटपिटमा परेका थिए। दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाँझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले बताएको छ।

कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले दुबै जना किशोरलाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिएको छ। सोही समूहले एक हप्ताअघि गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा पुगाएर कुटपिट गरेको थियो। विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरि शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस