सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपः सुदूरपश्चिम एपिएफसंग पराजित

२०७६ जेठ १३, ०४:१६ खबर संवाददाता

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले ३४ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर भेटाएको थियो। एपीएफका कप्तान पृथु बास्कोटाले नटआउट ३२ रन जोड्दै टोलीलाई जित दिलाएका हुन्। यस्तै शरद भेषावकरले २६, सन्दीप जोराले २२, सुमित हर्जनले १५ र प्रदीप ऐरीले १० रन जोडे। सुदूरपश्चिमका विनोद लामाले ३ तथा शेर मल्लले २ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमात्रै बनाउँन सकेको थियो। सुदूरपश्चिमका लोकेश बमले सर्वाधिक ३० रन जोडे भने विपिन रावलले २१, खडक बोहराले १९ र रोशन अधिकारीले १६ रन बनाए। सुदूरपश्चिमका खडक बोहरा, रोशन अधिकारी, शेर मल्ल, नरेन्द्र साउद र विनोद लामा रनआउट भएका थिए। एपीएफका अभिनाश बोहराले २ तथा पृथु बास्कोटा, शरद भेषावकर र भुवन कार्कीले समान १–१ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस