सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा अस्पतालमा कार्यतालिका अनुसार सेवा विस्तार भएन

२०८१ वैशाख २०, ११:०७ कमल सावद

धनगढी : कैलालीको गेटामा २०८० कात्तिक १ गतेबाट एक सय शय्या क्षमताको अस्पताल सञ्चालनमा आयो। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गेटामा अस्पताल सञ्चालन भएको सात महिना हुँदैछ।

अस्पतालमा जनरल ओपीडि, हाडजोर्नी तथा नसारोग ओपीडि, स्त्री रोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छन्। अस्पतालले थप सेवा विस्तार गर्न भने सकेको छैन। गेटा अस्पतालका निर्देशक विप्लव सापकोटाले भवनहरू हस्तान्तरण नभएकाले योजना अनुसार काम नभएको बताए। उनले भने, ‘त्यो योजना थियो। तर, शिक्षा मन्त्रालयका भवनहरू हुन्। फागुनमा ७ वटा भवन लिएका छौ। अस्पतालका लागि चाहिने अक्सिजन लगाएतका भवनहरू शिक्षाबाट पाएका छौ। पहिलो आकस्मिक भवनबाट सुरु गरेका थियौ। अहिले ओपीडिबाट सुरु गरेका छौ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गरेका भौतिक संरचनाहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सञ्चालन गरेको हो। शिक्षा मन्त्रालयले भवनहरू प्रयोगका लागि अनुमति दिन ढिलो गरेकाले सेवा विस्तारमा समस्या देखिएको तर्क गरिएको छ। गेटामा एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमर्जेन्सी सेवा र प्रसूति सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने कार्य सूचि तयार गरिएको थियो। तर, कार्यसूची अनुसार सेवा विस्तार भएको छैन। सापकोटाले भने, ‘जेठ १५ बाट २० शय्यामा बिरामी भर्ना गर्ने योजना बनाएका छौ। चिकित्सक, उपकरण लगाएतको व्यवस्था भएपछि असोजसम्म पूर्ण रूपमा सञ्चालन गर्न सक्छौ। जेठ १६५ बाट आकस्मिक सेवासहितको बिरामी भर्ना गर्ने छौ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत फागुनमा सातवटा भवन अस्पताललाई दिएको छ। अस्पतालले नयाँ भवनहरूबाट सेवा विस्तारको योजना बनाएको छ। २०८१ जेठ १५ गतेसम्म आकस्मिक सेवासहितको बिरामी भर्नाको सेवा विस्तार गर्ने योजना बनाइएको छ। बिरामी भर्ना तथा आकस्मिक सेवाका लागि नर्ससहितका जनशक्तिका भर्नाका लागि सूचना सार्वजनिक गरिएको छ। गेटा अस्पतालमा डर्मा, एनेस्थेसीया, चार जना एचए, फार्मेसी, रेडियोग्राफर, स्टाफनर्स भर्नाका लागि विज्ञापन गरिएको हो। आवश्यक जनशक्ति भर्ना भएपछि जेठबाट आकस्मिक सेवासहित २० शय्यामा बिरामी भर्नाको तयारी गरिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको गेटा अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले आपीडित सेवा दिदै आएका छन्। अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएको थियो। तर, स्वीकृत दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन्। २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णयले वार्षिक विकास कार्यक्रम स्वीकृति गरेको थियो। चालु आर्थिक वर्षमा ८० करोड उपकरण खरिदका लागि विनियोजन गरिएको छ। उनले भने, ‘भवनहरू पाएका छौ। उपकरण खरिदका लागि ठेक्का गरेका छौ। ८० करोड रुपैयाँ चालु आर्थिक वर्षमा छ। जनशक्ति भर्नाका लागि सूचना सार्वजनिक गरेका छौ।’

गेटा अस्पतालले कार्यतालिका अनुसार सेवा विस्तार गर्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गेटामा अस्पताल सञ्चालन गरेको सात महिना पुग्नै लाग्दासमेत आकस्मिक सेवा समेत विस्तार हुन सकेको छैन्। २०८० कात्तिक १ गतेबाट सञ्चालनमा आएको अस्पतालमा जनरल ओपीडि, हाडजोर्नी तथा नसारोग, स्त्री रोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आएको छ। तर, अस्पतालले गत वर्षको मङ्सिर महिनाभित्र सञ्चालन गर्ने भनिएको आकस्मिक लगातका सेवाहरू भने विस्तार हुन नसकेको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस