सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे प्रेस स्वतन्त्रता धरापमा पर्छ : महासंघ अध्यक्ष आचार्य

। फोटो स्रोत ।
२०७६ जेठ ११, ०३:३२ खबर संवाददाता

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने बताएका छन्। शनिबार नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरु महासंघको नेतृत्वमा पुगे भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई महासंघको नेतृत्वमा ल्याउन नहुने बताए।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने समेत दाबी गरे। ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन, केही समय बाधा व्यवधानहरु आउलान, तर, हार्ने आन्दोलन, हार्ने इस्यु हामीले उठाएकै छैन, हामी जित्छौं, जसले यस्ताखालका कानूनहरु ल्याउँछन, तिनीहरुचाहिँ हार्छन्, इतिहासले यही भन्छ,’ उनले भने। 

पत्रकार महासंघले अहिले थालेको आन्दोलन सर्वसम्मत रुपमा अगाडि बढेको र यसमा महासंघ एक ढिक्का रहेको बताउँदै  महासंघका कुनै पनि जिल्ला समितिहरुले आन्दोलनमा जानु नहुने बताए। नेपाल पत्रकार महासंघले नागरिक अगुवा एवं मानवअधिकारकर्मीहरुसँग पनि छलफल गरेको बताउंदै उनले विभिन्न पेशागत संगठनले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता जनाएका बताए। 

०६२-०६३ को जनआन्दोलनमा भूमिका खेलेका नागरिक समाजका अगुवा र मानवअधिकारर्मीको पनि समर्थन रहेको भन्दै सडकमै जानुपर्यो भने पनि एक्लै नहुने बताए। मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा यतिबेला नेपाल पत्रकार महासंघ दोस्रो चरणको आन्दोलनमा छ। महासंघको आन्दोलनमा सम्पादक समूहले पनि संयुक्त वक्तव्य जारी गर्दै ऐक्यवद्धता जनाएको छ।’

कमेन्ट लोड गर्नुस