सुदूर नेपाललाई विश्वसँग जोड्दै

मझगाउँ विमानस्थल सञ्चालनका लागि पहल भएन, चुनावी एजेण्डा बनाएका नेता पन्छिए

२०७६ जेठ ९, ०४:४६ खबर संवाददाता

झण्डै दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि पहल समेत भएको छैन्। मझगाऊ विमानस्थल पुनः सञ्चालनमा नेपाल सरकार र अन्य कुनै पनि निकायबाट समेत पहल नभएको हो। तीन तहको सरकारसंग पनि विमानस्थल पुनः सञ्चालनका लागि कुनै पनि योजना नभएपछि जिल्लावासी निराश भएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल सुचारुका लागि काम भईरहेको अवस्थामा मझगाउँ विमानस्थल सञ्चालनका लागि भने नागरिक उड्यन प्राधिकरणसंग समेत कुनै योजना छैन्। अछाम विमानस्थल मर्मतपछि उडानका लागि योग्य भईसकेको छ भने बैतडीको पाटन र डोटीको दिपायल विमानस्थलमा काम जारी छ। तर मझगाउँ विमानस्थलका लागि चालु बर्षमा कुनै योजना समेत नभएको र आगामी आर्थिक बर्षका लागि चर्चा समेत नभएको नागरिक उड्यन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौड्यालले बताए। ’मझगाउँ विमानस्थल सञ्चालनका लागि सो क्षेत्रका नेताहरुबाट पनि कुनै माग भएको छैन्।’ उनले भने। 

असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि विगतमा नीजि क्षेत्रले दवाव दिएपनि अहिले नीजि क्षेत्रको दवाव पनि घट्दै गएको छ। विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन्। तर सो क्षेत्रबाट प्रदेश सभा सदस्य मानवहादुर सुनारले भने प्रदेश सरकारले विमानस्थलमा तारवारका लागि ५ लाख विनियोजन गरेको बताए। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको समयमा कञ्चनपुरका नेताहरुले मझगाउँ विमानस्थल सुचारु गर्ने प्रमुख चुनावी एजेण्डा बनाएका थिए। तर विजयी भएका नेताहरुले समेत विमानस्थल पुनः सञ्चालनका लागि दवाव समेत नदिएको गुनासो बढ्दै गएको छ। सो क्षेत्रबाट विजयी प्रतिनिधि सभा सदस्य डाक्टर दीपकप्रकाश भट्टले भने आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्न आफुले सम्वन्धित निकय समक्ष माग राखेको बताए। 

अहिले प्रदेश र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका नेताहरु मात्रै होईन विगतमा पटक–पटक मन्त्री समेत भईसकेका सोही क्षेत्रका नेताहरुले पनि विमानस्थल सञ्चालनका लागि वेवास्ता गरेको आरोप लाग्दै आएको छ। तर पुर्व मन्त्री रमेश लेखकले भने जग्गा थप अधिग्रहणका लागि विगतमा पहल गरेपनि अहिले के भईरहेको छ भन्ने विषयमा आफुलाई जानकारी नभएको बताए। झन्डै ५२ बिघा क्षेत्रफलमा रहेको विमानस्थल अहिले गौचरणमा परिणत छ। 

देशकै पश्चिमी सीमानाका नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्रयाउन सजिलो हुने धेरैको तर्क छ। विमानस्थल सुचारु भए आर्थिक गतिविधिहरु स्वभाविक रुपमा बढ्ने पनि जिल्लावासीको अपेक्षा छ। एशियाको दोस्रो लामो दोधारा झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन्। यस्को मुख्य कारण नै विमानस्थल नहुँनु रहेको धेरैको बुझाई छ।
 

कमेन्ट लोड गर्नुस