सुदूर नेपाललाई विश्वसँग जोड्दै

गत वर्ष शून्य धनगढीका १७ विद्यालयले यसरी ल्याए यस वर्ष नतिजामा सुधार

२०८० चैत्र ३०, ०६:३७ नारायण अवस्थी

धनगढीः गत वर्ष शून्य नतिजा आएका धनगढीका सामुदायिक विद्यालयको नतिजामा यो वर्ष सुधार भएको छ।

गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यो वर्ष सबै विद्यालयले नतिजा सुधार गरेका हुन्। १७ मध्ये तीन विद्यालयको समायोजन हुँदा बाँकी रहेका १४ विद्यालयको नतिजा शिक्षक, अभिभावक र विद्यार्थीको प्रयासमा सुधार भएको हो। शैक्षिक सत्र सुरू भएको दिनदेखि सामुहिक प्रयास गर्दा आधारभूत तहको परीक्षाको नतिजामा सुधार भएको प्रधानाध्यापकहरूले बताएका छन्।

कक्षा ८ को वार्षिक परीक्षामा गत वर्ष धनगढी–१२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको शून्य नतिजा आएकोमा यो वर्ष ५१ दशमलव ४२ प्रतिशत विद्यार्थी सफल भएका छन्। दुर्गा आधारभूत जस्तै धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयको पनि गत वर्ष शून्य नतिजा आएको थियो। यो वर्ष भने नतिजामा सुधार गर्दै ४९ प्रतिशत विद्यार्थी पास भएका छन्।

धनगढी–१३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयबाट यो वर्ष ४७ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जनकल्याण, दुर्गा आधारभूत र नवज्योति आधारभूत विद्यालयको नतिजामा यो वर्ष निकै सुधार भएको छ। बाँकी ११ विद्यालयको  नतिजामा पनि सुधार भएको छ। 

No description available.

गत वर्ष शून्य नतिजा आएका विद्यालयहरूमा सिकाइ उपलब्धिमा सुधार ल्याउन प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थी स्वयंले मेहनत गरेको प्रधानाध्यापकहरूले बताएका छन्। विद्यार्थीको नतिजामा सुधार ल्याउन विद्यार्थीको नियमित हाजिरीमा जोड दिएको, विद्यार्थीको सिकाइ उपलब्धिबारे अभिभावकहरूलाई नियमित जानकारी गराएको र अभिभावक समेतलाई विद्यार्थीले घरमा गर्ने पढाइमा ध्यान दिन आग्रह गरेको जनकल्याण माध्यमिक विद्यालय जुगेडाका प्रधानाध्यापक तर्कराज जोशीले बताए।

‘हामीले सुरूबाटै विद्यार्थीको नियमित हाजिरीमा जोड दियौँ। विद्यार्थीको दैनिक हाजिरीको अभिलेख राख्ने, नियमित परीक्षा लिने र त्यसको नतिजा अभिभावकहरूलाई बोलाएर दियौँ’, उनले भने, ‘सबै शिक्षकहरूको मेहनत, अभिभावकहरूको साथ र समर्थन विद्यार्थीहरूको लगनशीलताको कारण नतिजामा सुधार आएको हो।’

गत वर्ष शून्य नतिजा ल्याएको भादाको दिपेन्द्र चारपाते माध्यमिक विद्यालयको ३२, शिव माध्यमिक विद्यालय देवहरियाको यो वर्ष २३, फूलबारीको इन्द्रोदय आधारभूत विद्यालयको २२, भानु माध्यमिक विद्यालय पथरीको १९ प्रतिशत र धनगढी–१ को सरसस्वती आधारभूत विद्यालयको १६ प्रतिशत नतिजा आएको छ।

यस्तै, धनगढी–१७ को सज्जन आधारभूत विद्यालयको १०, फूलबारीको सिद्धार्थ आधारभूत विद्यालयको ९, फूलबारीकै शिवशंकर र फूलबारी आधारभूत विद्यालयको क्रमशः ७ र ८ प्रतिशत नतिजा आएको छ भने धनगढी–१३ राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयबाट केबल १ जना विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड हासिल गरेका छन्। समग्रमा केही विद्यालयको नतिजा कमजोर नै रहे पनि मेहनत गरेर केही विद्यालयले नतिजामा सुधार गरेको पाइएको छ।

No description available.

शैक्षिक सत्रको सुरुवातदेखि नै अतिरिक्त कक्षा चलाएर नियमित साप्ताहि, एकाइ र मासिक परीक्षा लिएका कारण विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आएको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक मोहनबहादुर भण्डारीले बताए। ‘शैक्षिक सत्र २०८० को सुरुमै नियमित विद्यालय नआउने र सबै किसिमका परीक्षामा सहभागी नहुने विद्यार्थीलाई वार्षिक परीक्षामा सहभागी नगराउने निर्णय गरिएको थियो। त्यसपछि बैशाखदेखि नै अतिरिक्त कक्षा, एकाइ परीक्षा र मासिक परीक्षा लिएकाले विद्यार्थीमा लेखन सीपको विकास भयो। जसले नतिजा राम्रो आएको हो’, प्रधानाध्यापक भण्डारीले भने।

यो वर्ष कक्षा ८ को नतिजामा सुधार ल्याउन धनगढीका सबै सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालनदेखि नियमित विद्यार्थीको मूल्याङ्कन गरिएको छ। केही विद्यालयहरूले विद्यार्थीहरूलाई छात्रावासमा बस्न लगाएर समेत पठनपाठन गराएका छन्। शिक्षकहरूको मेहनत, अभिभावकहरूको सद्भाव तथा शिक्षा महाशाखाको नियमित अनुगमन, रिपोर्टिङ र रेकर्डिङ जस्ता कुराले वार्षिक परीक्षाको नतिजामा सुधार ल्याएको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक जोशीले बताए। ‘यो पटक सबै सरहरूले पनि मेहनत गर्नु भयो, अभिभावकले पनि आफ्ना बालबालिकालाई घरमा पढ्न लगाए, नगरपालिकाबाट पनि अतिरिक्त कक्षा चलाउन आर्थिक सहयोग मिल्यो।

शिक्षक, अभिभावक, विद्यार्थी र नगरपालिकाको कारण यो वर्ष राम्रो नतिजा आएको हो’, प्रधानाध्यापक जोशीले भने। गत वर्ष धनगढीका २ हजार ४१९ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सम्मीलित भएकामा २२९ जना विद्यार्थी मात्रै पहिलो चरणमा पास भएका थिए। यो वर्ष २ हजार ४३६ जनामध्ये एक हजार ९० जना विद्यार्थी पहिलो चरणमा उत्तीर्ण भएका छन्। परीक्षामा बढीमा दुई विषयमा पास हुन नसकेका विद्यार्थीका लागि उपमहानगरले बैशाखमा मौका परीक्षा सञ्चालन गर्नेछ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस