सरकारले देशभरका स्थानिय तहमा नयाँ कर्मचारी पठाउने

सरकारले देशभरका स्थानिय तहमा नयाँ कर्मचारी पठाउने भएको छ। लोकसेवा आयोगमार्फत ७५३ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ जना कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
आयोगका अध्यक्ष उमेश मैनालीका अनुसार निजामती सेवा ऐनले प्रचलित कानुन अनुसार कर्मचारी भर्ना गर्न पाइने भने पनि निजामती सेवा श्रेणी र तहमा हुँदा समस्या देखिएकोले कानुनी स्पष्टताका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीतिगत अस्पष्टता हटाएर कर्मचारी पदपूर्तिको बाटो खोलिदिएको सुने पनि लिखित रूपमा जानकारी नआएको मैनालीले बताए। सरकारले गत चैतमा स्थानीय तहमा स्वीकृत ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ४३ हजार ८ सय ७ दरबन्दीमा कर्मचारी पठाएको थियो।




