सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँसका मौलिक सामग्री विस्थापित हुँदै

२०८० चैत्र १८, ०२:४९

धनगढी : ग्रामीण क्षेत्रमा प्रयोग हुँदै आएका मौलिक सीपमा आधारित बाँस तथा निगालोको चोयाबाट निर्मित सामग्री विस्थापित हुन थालेका छन्। पछिल्लो समय प्रविधिको विकाससँगै बजारमा प्लास्टिकजन्य सामग्री आउन थालेपछि बाँस तथा निगालोका घरायसी प्रयोजनका मौलिक सामग्री विस्थापित हुन थालेका हुन्।

पहिले घरायसी प्रयोग, अन्नभण्डारण, मलखाद्य, घाँस, दाउरा, स्याउला, सोत्तर बोक्नेलगायत काममा प्रयोग हुने बाँस तथा निगालोबाट बनेका सामग्रीको प्रयोग घट्दै गएको स्थानीय बताउँछन्। बाँस तथा निगालोबाट बनेका सामग्रीको सट्टामा प्लास्टिक, जस्तापातालगायतका सामग्री बजारमा आउन थालेपछि पेसा नै सङ्कटमा पर्न थालेको कैलालीको धनगढी उपमहानगरपालिका–११ शिवशक्ति टोलका ठक्कर विकले बताए।

उमेरले ४६ वर्षीय विकले बाँसका सामग्री बनाउन लागेको करिब २५ वर्ष भएको बताउँदै पछिल्ला केही वर्षयता बाँसबाट बनाइएका सामान बिक्री गर्न समस्या हुन थालेको बताए। उनले लामो समयदेखि बाँसको चोयाबाट डोका, नाङ्ला, छिटुवा, भकारी, छाप्रालगायतका सामग्री बनाउँदै आएको बताए। उनले भने, ‘पहिले यो पेसाबाट कमाइ पनि राम्रै हुन्थ्यो । गाउँगाउँमा गएर सामान बेच्थेँ। आजकाल बजारमा बाँसको सट्टामा प्लास्टिक, जस्तापाताका सामान सस्तोमा पाउन थाले। बाँसका सामान बेच्नै गाह्रो हुन्छ।’

‘एउटा डोकोलाई छदेखि सात सयसम्म, नाङ्लोलाई पाँचदेखि छ सयसम्ममा बिक्री गर्छु। प्लास्टिकबाट बनेका सामान योभन्दा सस्तोमा आउँछन्’, उनले भने, ‘बाँसका सामग्री बलिया र टिकाउ पनि हुन्छन्। मेहनत पनि बढी लाग्छ त्यो ग्राहकले बुझ्दैनन्।’ यही पेसाबाट सात जनाको परिवार पाल्दै आएका विकले अब यसबाट गुजारा चलाउन नसकिने अवस्था आएको बताए। उनले भने, ‘बाँस पनि किन्नुपर्छ । सामान बनाउँदा मेहनत धेरै लाग्छ। सस्तोमा बेचौँ भने बाँसकै मूल्य आउँदैन।’

कमाइ राम्रो नहुने भएपछि धेरैले पेसा नै छाड्दै गएको उनले बताए। ‘पछिल्लो पुस्ताले यो सीप नै सिकेका छैनन्”, उनले भने, “हामीले त जसोतसो यो पेसा गरेकै छौँ । कमाइ राम्रो हुने, सजिलै बिक्री हुने भए त नयाँपुस्ताले पनि काम गर्थे होला।’ बाँस किनेर मेहनत गरी बनाएका सामान बिक्री गर्न समस्या हुन थालेको सोही ठाउँकी स्थानीय पाउनी कामीले दुखेसो गरे। उनले भने, ‘पहिले हामीले यसैबाट परिवारको गुजारा चलाउने गरेका थियौँ। दिनको एक हजारसम्म कमाइहुन्थ्यो । आजभोलि बाँसबाट बनाइएका सामान बिक्री हुनै छाडे।’

उमेरले ६० वर्षीया कामीले भने, ‘आजकाल बजारमा प्लास्टिकका सस्ता सामान आउन थाले। बाँसको एउटा नाङ्लो किन्ने पैसाले प्लास्टिकका तीन वटा आउँछन्। जसले पनि सस्तो नै किन्ने हो।’ सस्ता प्लास्टिकका सामग्रीले बाँसका सामग्री विस्थापित हुँदै गएपछि पुख्र्यौली सीप नै हराउँदै गएको स्थानीय खेमबहादुर विकले बताए। सरकारले यस्ता स्थानीय उत्पादनका लागि बजारीकरणको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ।

परम्परागत सीपमा आधारित पेसाको संरक्षणमा जोड दिइने धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष रुपबहादुर कुँवरले बताए। ‘हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ। वडाले पनि सामान किन्दा स्थानीय उत्पादनलाई जोड दिनेछ’, उनले भने, ‘यस्ता पेसाको प्रवर्द्र्धनका लागि आगामी दिनमा सीपमूलक तालिम दिने गरी योजना ल्याउँछौँ।’

 

कमेन्ट लोड गर्नुस