सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका २ मन्त्रीले पदभार ग्रहण गर्दै

२०८० चैत्र १५, १०:५८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका २ जना बिना विभागीय मन्त्रीहरूले पदभार ग्रहण गर्ने भएका छन्। नेपाली काँग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीका बिना विभागीय मन्त्रीहरूले पदभार ग्रहण गर्ने भएका हुन्। 

मुख्यमन्त्री कमलबहादुर शाहको निजी सचिवालयका अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूले मन्त्रीको पदभार ग्रहण गर्ने भएका छन्। बिहिवार खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र लक्ष्मण किशोरले सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्दैछन्। 

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री रहेका झपट साउँद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रमेश धामीलाई मुख्यमन्त्री शाहले पद मुक्त गरेका थिए। प्रदेशमा नागरिक उन्मुक्तिसँग मात्र काँग्रेसको तालमेल रहेको छ।

समाजवादी पार्टीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश साहीलाईसमेत पदमुक्त गरिएको थियो। नागरिक उन्मुक्ति, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा सरकार जोगाउने खेलमा मुख्यमन्त्री शाह रहेका छन्।

कमेन्ट लोड गर्नुस