सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट अभाव

२०८० चैत्र १५, १०:०९ कमल सावद

धनगढी : नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ। स्थानीय तहहरूले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो। तर, सुदूरपश्चिमका स्थानीय तहहरूले किताब खरिदका लागि समेत बजेट विनियोजन नगरेको पाइएको छ। कुल ८८ स्थानीय तहमध्ये अधिकांशले किताब खरिदका लागि बजेट विनियोजन गरेका छैनन्। सामुदायिक विद्यालयहरूमा किताब खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले पाठ्यपुस्तकका लागि रकम निकासा नभएको बताए। उनले भने, ‘स्थानीय तहहरुले विद्यालयहरुलाई रकम दिने हो। विद्यालयहरूले व्यवसायीहरूलाई दिने हो। तर, रकम निकासा नभएको भन्ने आएको छ।’

सुदूरपश्चिममा आगामी शैक्षिक सत्र २०८१ का लागि १९ लाख १५ हजार एक सय ८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ। जनक शिक्षा सामाग्री केन्द्रको धनगढीमा रहेको गोदाममा मङ्गलवारसम्म १५ लाख ३२ हजार एक सय ४८ थान किताब आपूर्ति गरिएको छ। तर, जनक शिक्षाबाट किताब खरिद गरेर लगेका व्यापारीहरूले विद्यालयबाट रकम नपाउने समस्या देखिएको छ। कुँवरले भने, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा किताब खरिदका लागि बजेट नभएकाले समस्या हुने भएको हो। नगर प्रमुख र अध्यक्षहरू तथा शिक्षा हेर्ने अधिकारीसँग हामीले पनि कुरा गरेका छौ।’

जनक शिक्षा सामाग्री केन्द्रले किताब बिक्री सुरु गरेको छ। एक सय ६० व्यापारीले किताब ढुवानीका लागि प्रमाण पत्र बनाएका छन्। उनीहरूले विद्यालयहरूमा किताब पु¥याउने छन्। तर, स्थानीय तहहरूले विद्यालयहरूलाई किताब खरिद गर्न बजेट दिएका छैनन्। किताबको भुक्तानीका लागि बजेटको जोहो गर्न स्थानीय तहहरूलाई समस्या देखिएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख कुँवरले बिक्री वितरणमा सहजता ल्याउने बताए।

बाजुरामा ६ लाख १४ हजार सात सय ९८ थान किताबको आवश्यकता हुने अनुमान गरिएको छ। बाजुरामा मङ्गलवारदेखि किताब ढुवानी सुरु भएको छ। जिल्लामा व्यापारीहरूले १६ प्रतिशत ढुवानी खर्च र ९ प्रतिशत कमिसन पाउनेछन्। कञ्चनपुरका व्यापारीहरूले एक प्रतिशत ढुवानी खर्च पाउनेछन।

तर, कैलालीका व्यापारीहरूले भने ढुवानी खर्च पाउने छैनन। उनीहरूले ९ प्रतिशत कमिसनमा किताब ढुवानी गर्नुपर्ने छ। पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट अभाव देखिएको छ। कुल ८८ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा पाठ्यपुस्तक खरिद गर्न बजेट अभाव देखिएको हो। साथै कतिपय स्थानीय तहले यसका लागि बजेट समेत विनियोजन गरेका छैनन्। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले व्यापारीमार्फत पाठ्यपुस्तक ढुवानी गरेको भए पनि समयमा भुक्तानी पाउन समस्या हुने भएको छ। माध्यमिक शिक्षासम्मको अधिकार पाएका स्थानीयहरूले किताब खरिदका लागि बजेट नै विनियोजन नगरेपछि विक्री गरेको किताबको भुक्तानी पाउन समस्या पर्ने देखिएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस