सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

२०८० चैत्र १४, ०६:३५ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो सुरु भएको छ।

सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र ठूलो विवाद छ। आज (बुधबार) मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।

अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने की कायमै राख्ने भन्ने विषयमा भने नागरिक उन्मुक्तिबाट सांसद बनेकाहरु नै दुई कित्तामा देखिएका छन्। पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता थियो। साथै पार्टी संरक्षक रेशमलाल चौधरी पनि बैठकमा सहभागी थिएनन्। टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको विषय पनि बाहिर आएको छ।

पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति विना भएको भन्दै अर्को थरीले विरोध नै जनाएका थिए। पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ। तर सोही पार्टीका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताइरहेका छन्।

बैठकमा सहभागी रहेका सुदूरपश्चिम सरकारका विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकमा फरक मत व्यक्त गरेको विषय पनि बाहिर आएको छ। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले त प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएका छन्। चौधरीले आफूहरुको समर्थन कायमै रहने तर्क गर्दै आएका हुन्। पार्टीका संरक्षक रेशमलालसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरुको उपस्थितिविना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन्।

कमेन्ट लोड गर्नुस