सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालमा उपचार पाउनै मुस्किल

२०७६ जेठ ६, ०१:३२

विरबहादुर सिंह – सुदुरपश्चिम प्रदेशकै रेफरल मानिएको सेती अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएपछि सेवा पाउनै मुस्किल हुन थालेको छ। गर्मी मौसम सुरु भएसंगै अस्पतालमा भाईरल ज्वरो लगायतका बिरामीहरुको संख्या बढ्दै गएको छ। २०४० सालको जनसङख्यालाई आधार मान्दै ५० शैयामा स्तरोन्नती भएको सेती अञ्चल अस्पतालको  स्तरबृद्धी नहुँदा अहिले विरामीलाई उपचार पाउनै मुस्किल हुन थालेको हो।

३६ बर्षदेखि स्तरोन्नतीको पर्खाईमा रहेको अस्पतालमा विरामीको चाप अनुसार न जनशक्ति छ न त शैया नै छन्। जसले गर्दा आर्थिक अवस्था मजवुत भएकाले नीजि अस्पतालबाट सेवा लिएपनि विपन्न बर्गलाई भने उपचार पाउन पनि समस्या हुन थालेको छ।  बिरामीको चाप बढेसगै सामान्य चेकजाँचका लागि पनि घण्टौ सम्म  लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ।

कैलाली र कञ्चनपुरसंगै ७ पहाडी जिल्लका धेरै सर्वसाधारणले उपचार सेवा लिने धनगढीको सेती अञ्चल अस्पतालमा आवश्यकता अनुसार जनशक्ति, उपकरण र शैया नहुँदा विरामीलाई सेवा पाउनै मुस्किल हुने पुर्नवास नगरपालीकाबाट उपचारका लागि आएकी ललिता बोहोराले  गुनासो गरिन्। उपचारका लागि टाढाबाट आउनुपर्ने त्यसमाथि पनि अस्पतालले वास्ता नै नगर्दा झनै समस्या हुने गरेको उनको गुनासो छ।

यस्तै फुलबारीबाट आफ्नो स्वास्थ्य चेकजाँच गर्न आएका ५५ वर्षीय अर्का सेवाग्राही जीवनाथ शर्माले भने बृद्धबृद्धाहरुलाई लाईनमा बस्नु पर्ने बाध्यात्मक नियम नभए सजिलो हुने अपेक्षा गरे। बिहान ९ बजे अस्पताल पुगेका उनले दिउँसोको १२ बजे सम्म टिकट समेत काट्न नसकेको गुनासो गरे। विरामीहरुलाई अस्पतालमा भर्ना गराउँदा टिकट अनिवार्य काट्नुपर्ने भएपछि आकस्मिक बिरामीहरुलाई पनि समस्या हुने गरेको छ।

टिकट काट्न र उपचार गराउन घण्टौँ सम्म लाईनमा बस्नु्पर्ने बाध्यता रहेको छ। कतिपय बिरामीहरु भने भिडभाडका कारण टिकट काट्न नपाएर फर्किने गरेका छन्। यता सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने उपचारका लागि लाईनमा लाग्नु समस्या नभएको दावी गर्छन्। टिकट काट्नका लागि लाईनमा बस्नुको विकल्प नभएको उनले बताए। 

 

कमेन्ट लोड गर्नुस