सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा छात्रावासमै बसेर परीक्षार्थीहरु एसइईको तयारी गर्दै

२०८० चैत्र ११, ०३:४३ नारायण अवस्थी

धनगढीः यही चैत १५ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ।

यो वर्ष कक्षा ११ मा भर्ना हुन विद्यार्थीले हरेक विषयमा अनिवार्य ३५ अङ्क ल्याउनुपर्ने भएको छ। एसइईको परीक्षालाई मध्यनजर गरेर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका १३ वटा माध्यमिक तहसम्मका सामुदायिक विद्यालयमध्ये तीन विद्यालयमा पुस महिनादेखि विद्यार्थीहरू छात्रावासमा बसेर पढाइ गरिरहेका छन्।

वडा नम्बर २ बङ्कको उदय माध्यमिक विद्याल, ६ नम्बर वडाको सरस्वती माध्यमिक विद्यालय र वडा नम्बर ७ को कञ्चन माध्यमिक विद्यालयले यो वर्ष छात्रावास चलाएका छन्। एसईई परीक्षा दिने विद्यार्थीहरू अहिले छात्रावासमा बसेर पठनपाठन गरिरहेका छन्। विद्यालयका कक्षा कोठा प्रयोग गरेर छात्र र छात्राहरूका लागि छुट्टाछुट्टै वार्डेन तथा विषयगत शिक्षकको व्यवस्था गरेर पठनपाठन भइरहेको छ।

एसईईको नतिजामा सुधार ल्याउन यी तीन विद्यालयका शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक र विद्यार्थी एकमत भएर छात्रावास चलाउने निष्कर्षमा पुगेका हुन्। घरमा हुँदा पढ्न मन नलाग्नेहरू पनि छात्रावासमा बस्न थालेपछि एकअर्काबिच प्रतिस्पर्धा गरेर राम्रो नतिजा ल्याउन पढाइ गरिरहेको कञ्चन माध्यमिक विद्यालयकी छात्रा मनिषा बिष्टले बताइन्। उनले विद्यालयमा पढ्न प्रतिस्पर्धा चलिरहेको बताइन्।


विद्यार्थीहरू बिहान ४ बजेबाटै पढ्न थाल्छन्
पुसदेखि छात्रावासमा बसेका विद्यार्थीहरू बिहान ४ बजे उठेर पढ्न बस्छन्। उनीहरूको समय तालिका अहिले निकै व्यवस्थित भएको छ। बिहान ४ बजेदेखि अध्ययनमा लाग्ने गरेको सरस्वती माध्यमिक विद्यालयकी छात्रा कल्पना बिष्टले बताइन्। उनले होस्टेलमा बसेर पढ्दा सबैलाई फाइदा पुगेको बताएकी छन्। शिक्षक तथा साथीहरूले मेहनत गरेकाले आफ्नो विद्यालयको नतिजा राम्रो आउने कल्पनाले बताइन्।
छात्र र छात्राका लागि अलग्गै वार्डेनको व्यवस्था
सामुदायिक विद्यालयमा छात्रावास चलाउने नौलो अभ्यास कृष्णपुरका तीनवटा विद्यालयले गरेका छन्। छात्रावास चलाउन नगरपालिकाले समेत प्रोत्साहन गरेको छ भने समुदाय, व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले छात्रावास चलाउन सहयोग गरेका छन्। छात्रावास भवन नभएको अवस्थामा विद्यालयका सुरक्षीत कक्षाकोठा प्रयोग गरेर बस्ने व्यवस्था मिलाइएको छ।

छात्राहरूको रेखदेख गर्न महिला वार्डेनसहित बस्ने भवन समेत अलग्गै बनाइएको छ। छात्राहरूले निकै मेहनत गरेर परीक्षाको तयारी गरिरहेको सरस्वती माध्यमिक विद्यालयमा वार्डेनको काम गरिरहेकी आरती बोगटीले बताइन्। उनले यो वर्ष छात्राहरूले राम्रो ग्रेड ल्याउने विश्वास व्यक्त गरिन्।
यसरी गरिन्छ छात्रावासको रेखदेख 
कञ्चन माध्यमिक विद्यालय, उदय माध्यमिक र सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका पदाधिकारीले छात्रावासको नियमित रेखदेख र अनुगमन गर्ने गरेको उदय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र पालले बताए। यस्तै, समुदायले छात्रावास चलाउन सहयोग गरेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वडले बताए।

सरस्वती माविका प्रधानाध्यापक तारानाथ ओझा, उदय माविका प्रधानाध्यापक बम्मन रानाले छात्रावासको राति १० बजेसम्म रेखदेख गर्छन भने कञ्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरी भने विद्यालयमै बस्ने गरेका छन्। प्रधानाध्यापक चौधरी अर्को शिक्षकले पालो दिने अवस्थामा मात्रै घर जाने गरेका छन्। विद्यार्थीहरूलाई कुनै किसिमको असुरक्षा नहोस् भनेर विद्यालयमै बस्ने गरेको चौधरीले बताए।
कसरी हुन्छ छात्रावासमा पढाइ
छात्रावासको नियमित पठनपाठन बिहान ४ बजेबाट सुरू हुने गरेको छ। चार बजे उठेर हातमुख धोइ विद्यार्थीहरू पठनपाठनमा लाग्ने गरेका छन्। पुस महिनादेखि फेरिएको विद्यार्थीहरूको समय तालिकाले उनीहरूलाई एसईईमा राम्रो ग्रेड ल्याउँछु भन्ने आत्मविश्वास दिलाएको छ। छात्रावासमा बसेर मेहनत गरेका कारण राम्रोसँग एसइई पास गर्ने कञ्चन माध्यमिक  विद्यालयका छात्र पवन ऐरको विश्वास छ।

यस्तै, राम्रो ग्रेड ल्याएर सबै जना १० कक्षाबाट ११ मा जाने अर्का विद्यार्थी आशिष कैनीको भनाइ छ। छात्रावासमा भेटिएका विद्यार्थीहरूले एसइई परीक्षामा राम्रो ग्रेड आउने आत्मविश्वास जागेको बताएका छन्। नियमित कक्षाका अतिरिक्त छात्रावासमा सबै विषयको पठनपाठन विद्यालयका विषयगत शिक्षकहरूले गरेका कारण एसइईको डर पूरै हटेको उनीहरूले बताएका छन्।
‘घरमा नपढ्नेहरू पढन्ते भए’
छात्रावासमा आएपछि घरमा नपढ्ने विद्यार्थी पनि अहिले पढ्न अभ्यस्त भएको शिक्षकहरूले बताएका छन्। विद्यालयका प्रधानाध्यापकहरू स्वयं नै विद्यार्थीसँगै बसेर पठनपाठनको रेखदेख गरिरहेका छन्। यस्तै, विषय शिक्षकहरूले आफ्नो पालोमा छात्रावासमा बस्ने विद्यार्थीहरूलाई नियमित कक्षाकोठामा जस्तै पढाउने काम गरिरहेकाले विद्यार्थीहरूमा सबै विषयमा राम्रो ग्रेड हासिल गर्ने साहस बढेको अनुमान शिक्षकहरूले गरेका छन्। ग्रामीण क्षेत्रका विद्यार्थीहरू विद्यालबाट गएपछि घरमा नपढ्ने, अन्य काममा लग्ने गरेकोमा छात्रावासमा बस्न थालेपछि निकै मेहनत गरेर पढिरहेको ठम्याइ कञ्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरीको छ।


नगरपालिकाबाट आर्थिक सहयोग 
कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालन गर्न यो वर्ष प्रतिविद्यार्थी ८१० रुपैयाँ अनुदान दिएको छ। यो रकमबाट कक्षा १० का विद्यार्थीलाई अनिवार्य अतिरिक्त कक्षा चलाउनुपर्ने व्यवस्था गरिएकोमा तीनवटा विद्यालयले भने छात्रावास नै चलाएका हुन्। छात्रावासमा बसेको र पढेको विद्यार्थीहरूले भने कुनै शुल्क तिर्नु पर्दैन।

घरबाट ल्याएको सामलबाट विद्यालयमा खाना पकाउने गरिन्छ भने केही विद्यार्थीका अभिभावकले घरबाट खाना पुगाउने गरेका छन्। तर, विद्यालयहरूमा छुट्टै छात्रावास भवन नहुँदा विद्यालयका कक्षा कोठाहरू प्रयोग गर्नुपर्ने भएको छ। छात्रावासमा बसेर पठनपाठनको व्यवस्था गर्दा विद्यार्थीमा पढाइप्रति अभिरुचि जागेको नगर प्रमुख हेमराज ओझाले बताए। उनले आगामी वर्ष छात्रावास भवनकै व्यवस्था गरेर थप व्यवस्थित किसिमले छात्रावास चलाउन सहयोग गर्ने नगर प्रमुख ओझाले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस