सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रहरी सरुवामै आर्थिक चलखेल! यसो भन्छन् डिआइजी केसी

२०८१ वैशाख १५, १२:३०

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा प्रदेश प्रहरी कार्यालयले खोल्ने सरुवामा व्यापक आर्थिक चलखेल हुने गरेको विषय बाहिर आएको छ।

पहुँचवालाको रजाइँ र तल्लो दर्ताका प्रहरी सधै थिचोमिचोमा पर्ने गरेको विषय बारम्बार उठ्ने गरेको छ। योग्यता, क्षमता र योगदानका आधारमा भन्दा पहुँचका आधारमा सरुवा गर्ने काम प्रदेश प्रहरी कार्यालयबाट हुने गरेको विषय बाहिर आएको हो। प्रहरी स्रोतका अनुसार विभागीय अडर आदेशको पूर्ण पालना हुने गरेको छैन्।

साथै एउटै स्थानमा लामो समय बसेका प्रहरी कर्मचारीलाइ फिर्ता रमाना गर्ने आदेश समेत पूर्ण रुपमा कार्यान्वयन नभएको प्रहरी कर्मचारीकै गुनासो छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाही, प्रहरी हवल्दार बिन्द्रा थापा चन्द, प्रहरी हवल्दार केशर बुडाल, प्रहरी सहायक हवल्दार भरतबहादुर विष्ट लगायत ७० देखि ८० जनाको लामो समयदेखि फिर्ता रमाना नभएको भन्दै सुदूरपश्चिम प्रदेशका डिआइजीको ध्यान जानुपर्ने प्रहरी स्रोतले बताएको छ।

बेलाबेला प्रदेश प्रहरी कार्यालयले खोल्ने सरुवामा व्यापक आर्थिक चलखेल हुने गरेको आरोप छ। यसका लागि निष्पक्ष विभागीय अडर आदेशको पालना हुनुपर्ने प्रहरी स्रोतको सुझाव छ। सुदूरपश्चिम प्रदेशका तत्कालिन प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराको कार्यकालमा प्रदेश प्रहरी कार्यालयले खोलेको सरुवाको निष्पक्ष छानविन हुनुपर्ने माग समेत गरिएको छ।

सरुवामा भएको आर्थिक चलखेल, आफ्नो मान्छे राख्ने, ढोके चम्चेलाइ हेर्ने र उनीहरुलाइ नै पटकपटक पुरस्कृत गर्ने चलन रहिआएकाले यस्तो विकृती हटाउन माग गरिएको छ। साथै तल्लो दर्जाको विभागीय सरुवालाइ निष्पक्ष रुपमा छानविन गरिदिन पनि अहिलेका डिआइजी समक्ष आग्रह गरिएको छ। सुदूरपश्चिममा प्रहरी संगठनभित्र ठूलो समस्याको रुपमा आफ्नो मान्छे हेर्ने, ढोके, चम्चा, काटालाइ हेर्ने कारण नै संगठनमा ठूलो समस्या देखा परेको गुनासो गरिएको छ।

पछिल्लो समयमा खुलेको सरुवामा समेत आर्थिक चलखेल भएकाले निष्पक्ष छानविनको माग गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सरुवामा कुनै आर्थिक चलखेल नभएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसीले बताएका छन्। ‘हाम्रो नियत एकदमै सफा छ। कहिँकतै त्यस्तो बदमासी भएको छ भने तुरुन्त कारबाहीको दायरामा ल्याउन तयार छौँ।’

कलेन्द्रविक्रम शाहीको विषय डिआइजी केसीले भने, उनी अछाममा एक जना थुनुवा समात्दा उनको एउटा खुट्टा नै काम नलाग्ने भएको थियो। अहिलेसम्म जुत्ता लगाउन नमिल्ने तर चप्पल लगाएर काम गरिरहनु भएको छ। उनको उपचार छैन। एक घण्टाभन्दा बढी उभियो भने रगत तल सर्दै जान्छ। उनी औषधिको भरमा साधा पोशाकमा काम गर्छन्, डिआइजी केसीले भने। बाँकी नामहरुको विषयमा आफुलाइ जानकारी नभएको बताए।

उल्लेखित व्यक्तिहरु महत्वपूर्ण जिम्मेवारीमै भएको बताइएको छ। सुदूरपश्चिममा प्रहरी संगठनलाइ अझ सक्षम, भरपर्दो र बलियो बनाउने विषयमा केन्द्रित भएर लागेको डिआइजी केसीले बताए। ‘कहिँकतै एकाध व्यक्ति त्यस्तो खराब आचरण राखेर अनुचित लाभ लिन खोज्ने होलान पनि तर एक न एकपटक कारबाहीको भागीदार हुनुपर्छ।’ उता जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक प्रहरीका अनुसार प्रहरीले पाउने भत्तामै अनियमितता हुने गरेको गुनासो गरेका छन्। जिल्ला प्रहरी प्रमुखले नै वन्यजन्तुको सिकार मगाउने गरेको समेत खुलेको छ। वन तस्करलाइ सहयोग गर्ने गरेको गुनासो प्रहरी स्रोतबाटै आएको छ।

कमेन्ट लोड गर्नुस