सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्युमरको शल्यक्रियापछि दीपक अपाङ्ग, ऋणले घर–पाखो स्वाहा

२०८० चैत्र १०, ०१:०२ कमल सावद

धनगढीः बैतडीको सुर्नया गाउँपालिका–३ बाँसबाट अगबिर सिंह विष्टको परिवार १२ वर्षअघि कैलालीको बुढीतोला आयो।

अगबिर श्रीमती, तीन छोरी र एक छोरा दीपकलाई लिएर गोदावरी नगरपालिका–४ बुढीतोला आएको १२ वर्ष भयो। भारतमा काम गर्दै आएका अगबिरले बुढीतोलामा तीन रोपनी जग्गा जोडेका थिए। उनले सुर्नयाबाट २०७४ चैत २५ गते बसाइँसराइसमेत बनाए। बुढीतोलामा तीन रोपनी जग्गा विष्टको नाममा थियो। तर, घर थिएन। अर्काको घरमा बस्दै आएका थिए। परिवारलाई अर्काको घरमा छोडेर अगबिर भारत गए। भारतमा मजदुरी गरेर अगबिरले घर बनाउन आर्थिक जोहो गरे।

उनकी श्रीमतीले घरका लागि आवश्यक ढुङ्गाको जोहो गरिन। चार कोठाको घर बनाए। तीन रोपनी जग्गामा चार कोठाको घर बनाएका अगबिरले महेन्द्रनगरमा समेत जग्गा जोडेका थिए। तीन छोरीको बिहे भयो। छोरीहरू बिहे गरेर तराइ झरे। छोरा दीपक पनि धनगढीको शारदा माध्यमिक विद्यालयमा पढ्न थाले। दीपक ६ कक्षादेखि शारदामा पढ्न थालेका हुन्। कक्षा १० सम्म उनको शिक्षा राम्रो थियो।

स्वास्थ्य पनि दीपकको राम्रो थियो। कक्षा ११ मा दीपक भर्ना भए। सोही बेला दीपकको कान मुनिको भागमा खटिरा जस्तो भयो। सुरुमा विष्टका परिवारले दीपकको रोगलाई सामान्य रूपमा लिए। तीन वर्षसम्म उनीहरूले रोग पत्ता लगाउन सकेनन्। धनगढीका अस्पतालहरूमा देखाए। धनगढीको एक अस्पतालले २ महिनासम्म दीपकको उपचार गर्ने भनेर भर्ना गरेर राखेको थियो। तर, बिरामको पत्तासमेत लागेन। बिराम भएको तीन वर्षपछि अत्तरियामा शिविर सञ्चालनमा आयो। शिविरमा ट्युमरको शंका रहेको चिकित्सकले बताए। 
वीर अस्पतालको यात्रा
ट्युमरको शंका रहेकाले वीर अस्पताल, काठमाडौँ लैजान शिविरका चिकित्सकले सुझाव दिए। विष्ट परिवारले ऋण खोजेर दीपकलाई काठमाडौँ लगेर गए। अगबिरले २०७८ वैशाख १० गते दीपकलाई वीर अस्पतालमा भर्ना गरे। दीपकको कानमा रहेको खटिराको रोग पत्ता लगाउन विभिन्न परिक्षणहरु भए। परीक्षणमाथि परीक्षण गर्न लगायो। एमआरआइ समेत गरियो। तर, उनको रोगको निदान गर्नेतिर अस्पताल लागेन। अगबिर छोरा दीपकलाई ल्याएर घर फर्किए।

२०७८ मंसिर २२ गते फेरि वीर अस्पताल पुगे। त्यो समयमा समेत सबै परिक्षणहरू अस्पतालका चिकित्सकले गर्न लगाए। चिकित्सकले भने बमोजिम अगबिरले गरे। तर, छोरा दीपकको बिरामको बारेमा अस्पतालले बताएन। १५ वर्षको एक मात्र छोरा बोकेर अगबिर फेरि सुदूरपश्चिम फर्किए। फेरि आउन अस्पतालले भनेको थियो। २०७६ माघ ५ गते फेरि वीर अस्पताल पुगे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालमा अगबिरले चिने जानेको कोही थिएन।

अगबिरले भनेको चिकित्सक र कर्मचारीले मानेनन। पटक–पटक अस्पतालमा भर्ना गरेर दीपकलाई राख्ने र विभिन्न परीक्षण गर्ने काम मात्र भयो। वीर अस्पतालको शय्यामा छोरा दीपक रहेका बेला अगबिरकी आमाको मृत्यु भयो। तर, दीपकको शल्यक्रिया भएन। ट्युमर भएको पत्ता लग्दासमेत अस्पतालका कर्मचारी र चिकित्सकहरूले बेवास्ता गरे। पटक–पटक बुढीतोलाबाट वीर अस्पताल पुगेका अगबिर थाकि सकेका थिए।

तेस्रो पटक भर्ना गरेको ३० दिनसम्म शल्यक्रियाको टुङ्गो नलागेपछि चिनेको एक जनालाई दुखेसो गरे। अनि वीर अस्पतालको प्रशासनले दीपकको ट्युमरको शल्यक्रिया गर्न तयार भयो। शल्यक्रियाका लागि तयार रहन अस्पतालले विष्टलाई भन्यो।चिकित्सकले औषधि लेखेर दिए। अगबिरले खरिद गरेर ठिक्क पारे। दोस्रो दिन दीपक विष्टको वीर अस्पतालमा शल्यक्रिया भयो। चिकित्सकहरूले बाँया कानको भागमा ट्युमर रहेकोमा दाँया घाँटीमा दीपकको शल्यक्रिया गरे।

अगबिरले कुनै भेउ पाएनन। ‘एकातिर ट्युमर रहेकोमा अर्काेतिर किन शल्यक्रिया भयो?’ विष्ट भन्छन, ‘उहाँहरूले रिसले छोरोको उल्टो अप्रेसन गरेछन। मैले अर्काे मान्छेलाई अप्रेसन चाँडो गर्न भनिदिन भनेकाले यस्तो गरेका होलान।’ वीर अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर भारत लैजान भनेपछि अगबिर झन झस्किए। अगबिरसँग भारतमा छोराको उपचार गर्न रकम थिएन्। उनी शल्यक्रियापछि छर फर्किए। दीपकको स्वास्थ्य ठिकै थियो। 

वीर अस्पतालका चिकित्सकले एक कान कम सुन्ने र एक कान बढी सुन्ने हुन सक्ने बताएका थिए। तर, दीपकले दुबै कान सुन्न छोडे। बाँया शरीरले नै काम गर्न छोड्यो। अगबिन आत्तिए। उनले दीपकलाई २०७९ भदौ ९ गते चितवन लगेर गए। चितवनको मनकामना अस्पतालमा दीपकलाई भर्ना गरे। विष्टको मनकामना अस्पतालमा मात्र ८६ हजार रुपैयाँ सकियो। तर, दीपक सन्चो भएनन्। उनको बिराम झन–झन कडा हुँदै गयो।

एक शरिरले काम नगर्ने हुँदै गयो। अत्तरिया आएर दीपकको थेरापीसमेत गरियो। तीन महिनासम्म अत्तरिया राख्दा पनि दीपकको शरीरले काम गरेन। उनको स्वास्थ्य झन बिग्रिदै गयो। परिवारमा आर्थिक चाँप बढ्दै गयो। भारतमा काम गर्ने अगबिरले छोराको उपचार गर्नुपर्ने भयो। पैसा आउने बाटो बन्द भयो। अगबिरको परिवार ऋणमा डुब्दै गायो। 
भारतको नयाँ दिल्लीको यात्रा
वीर अस्पतालका चिकित्सकले दीपकलाई भारतको अपोलो अस्पताल लैजान भनेका थिए। अगबिरले छोरा दीपकलाई उपचारका लागि भारत लगेर गए। उनले भारतको नयाँ दिल्लीमा रहेको लोक नायक अस्पतालमा छोरा दीपकलाई भर्ना गरे। लोक नायकमा एमआरआइको पालो पाइएन। भारतको गणेश डाइगोनिस्टिकमा एमआरआइसमेत गरियो। तर लोक नायक अस्पताल, नयाँ दिल्लीका चिकित्सकहरूले दीपकको उपचार गरेनन।

उनीहरूले शल्यक्रिया गरिएको अस्पतालमा फिर्ता लैजान भनेका थिए। भारतमा स्वास्थ्यकर्मीहरूले दीपकको शल्यक्रिया बिग्रेको बताए। भारतमा उपचार गर्दा अगबिरको थप ६ लाख भारतीय रुपैयाँ सकियो। तर, चिकित्सकहरुले फिर्ता पठाएपछि अगबिर निरास भए। भारतमा दीपकको थेरापीसमेत गरियो। तर, बिराम कम भएन। झन बड्दै गयो। 
घरसहितको तीन रोपनी स्वाहा
कैलालीको धनगढीका अस्पतालहरू, काठमाडौँको वीर अस्पताल, चितवनको मनकामना, गेटा आँखा अस्पताल र भारतको लोक नायक अस्पताल पुग्दासम्म अगबिर ऋणमा डुबि सकेका थिए। उनले बैतडीबाट तीन लाख रुपैयाँ ऋण ल्याएका थिए। उनले आधा, एक रोपनी गर्दै जग्गासमेत बिक्री गरिसहेका थिए। चार कोठाको घरमा विष्ट परिवारले गृह प्रवेशसमेत गर्न पाएन। उनीहरुले घरको काम सकेर बिक्री गर्नुपर्यो। तीन रोपनी जग्गासमेत सबै सकियो।

घरबार विहीन भए। बुढीतोलाका एक होटल सञ्चालकको घरम बस्न थाले। एक लाख मातमा अलिकति जग्गा लिएका छन्। मातको घरमा नै अपाङ्ग छोरा दीपकसँग बस्दै आएका छन्। सम्पतिको नाममा विष्ट परिवारसँग तीनवटा बाख्रा छन्। भारतमा काम गरेर अगबिरले जोडेको तीन रोपनी, महेन्द्रनगरको एक कठ्ठा जग्गा बुढीतोलाको घर–पाखो स्वाहा भएको छ। अझै विष्टलाई पाँच लाख ऋण छ। बैतडीबाट विष्टले तीन लाख ऋण लिएकोमा सावा र ब्याज गरेर पाँच लाख पुगेको थियो।

बिचमा ब्याजको रकम मात्र विष्ट परिवारले दिने गरेको थियो। तीन लाख ऋण लिएका अगबिरले पाँच लाख बैँकबाट ऋण गरेर पुरानो ऋणको रकम चुक्ता गरेका हुन्। प्रत्येक महिना ६ हजार नौ सय बैँकको किस्ता बुझाउनुपर्ने छ। तर, आम्दानीको स्रोत विष्ट परिवारसँग छैन। छोरीहरूले गरेको सहयोगबाट विष्टको तीन जनाको परिवारले खाना किनेर खाँदैछन्। छोरीहरू नभएको भए, भोकै मर्नुपर्ने अवस्था आएको अगबिर बताउछन्। 
वीर अस्पताल जान आर्थिक अभाव
दीपक बिरामी भएको सात वर्ष हुँदैछ। तर, सन्चो हुनुको सट्टा झन स्वास्थ्य खराब हुँदै गएको छ। अगबिरसँग छोराको उपचार गर्न पैसा छैन। बैँकको पाँच लाखको किस्ता बुझाउन समस्यामा रहेका विष्टसँग छोरालाई वीर अस्पतालमा फेरि लैजान आर्थिक अभाव भएको छ। दीपक कान सुन्दैनन। एक आँखासमेत देख्दैनन। एक हात र खुट्टासमेत उनको चल्दैन। ठिकसँग हिड्न समेत सक्दैनन। शौचालय जान र खाना खानसमेत नसक्ने अवस्थामा छन्। 

दीपकको हेरचाहामा अगबिर विष्टका श्रीमान र श्रीमती छन्। उनीहरूले ज्याला–मजदुरीसमेत गर्न पाएका छैनन्। उनले भने, ‘नसा काटिएको भन्छन्। तर, चिकित्सकहरू भन्दैनन। के भएको हो? वीर अस्पतालमा फेरि लैजाने भनेको पैसा छैन। गत साउनसम्म हिँडडुल गर्दै थियो। अप्रेसन गरेपछि शरीर एकोहोरो भएको छ। डाक्टरले थेरापी गर्न भन्नुभयो। हामीले थेरापी पनि गरेका हौ।रातभरी नसुतेर हैरान भएका छौँ। तर, छोरो अपाङ्ग भयो।’

अगबिरले १७ वर्षीय छोरा दीपकलाई उपचारका लागि फेरि वीर अस्पताल लैजाने इच्छा रहेको बताए। तर, आर्थिक अभावले समस्यामा रहेको उनको गुनासो छ। अगबिरसिंह विष्टले सानीमा बैँक, अत्तरियामा रहेको खाता नम्बर १२९०११०६००००८६९ मा सहयोग गर्न आग्रह समेत गरेका छन्।

 

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस