धनगढी विमानस्थलभित्र निर्माण गरिएको कार पार्किङ्ग र पहुँच मार्ग सञ्चालनमा
धनगढीः धनगढी विमानस्थलमा कार पार्किङ्ग र पहुँच मार्ग निर्माणका लागि २०७९ जेठ ४ गते नेपाल नागरिक उड्यन प्राधिकरण र जे एण्ड जी निर्माण सेवा, धनगढीबिच सम्झौता भयो।
एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको समय अवधि एक वर्षको थियो। तर, निर्माण कम्पनीले ढिलो गरेर मात्र काम पूरा गरेको छ। धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संरचना निर्माणको काम पुरा भएको बताए। उनले भने, ‘निर्माण सम्पन्न भएको छ। सञ्चालनमा पनि ल्याइसकिएको छ।’
नेपाल नागरिक उड्यन प्राधिकरण र इन्द्र–धनु अछाम निर्माण सेवा टीकापुर, कैलालीबिच २०७९ जेठ १६ गते चमेनागृह, वाटर फाउन्टेन, ट्रमिनल भवन सुधार र प्रवेशद्धार निर्माणको सम्झौता भएको थियो। एक करोड ९५ लाख ७८ हजार तीन सय ६७ रुपैयाँको उक्त योजनाको कामसमेत सकिएको छ। निर्माणको काम सकिएपछि चमेनागृहसहित सबै संरचना सञ्चालनमा आएका छन्।
विमानस्थल कार्यालयले पाँच वर्षका लागि ४८ लाखमा चमेनागृह सञ्चालनको ठेक्का सम्झौता गरिएको थियो। धनगढी विमानस्थलको स्तरोन्नति अन्तर्गत टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टमको कामसमेत पूरा भएको छ। कार पार्किङ स्थल र पहुँचमार्ग निर्माणको कामसमेत सकिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर ठेक्का गरेका सबै संरचनाको काम सकिएको हो। तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका थिए। एक वर्षमा सबै काम पूरा हुने लक्ष्य राखिएकोमा ढिलो मात्र काम सकिएको हो। धनगढी विमानस्थल कार्यालयका प्रमुख सिंहले भिओआरसम्म जाने सडक ग्राभेल गरिएको बताए। धनगढी विमानस्थलको प्रवेशद्धार निर्माणको काम समेत सकिएको छ।