सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ज्यान मार्ने उद्योगमा १९ जना विरुद्ध मुद्दा

२०८० चैत्र २, १०:३५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा ज्यान मार्ने उद्योगमा १९ जना विरुद्ध मुद्दा दर्ता भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशभित्रका सम्वन्धित जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तर्गत १९ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। ‘मुलुकी अपराध संहिता, ०७४’ को ज्यान मार्ने उद्योग र कुटपिट तथा अंगभंगसम्बन्धी महलमा दण्डको व्यवस्था गरिएको छ।

अपराध संहिताको परिच्छेद १२ मा ज्यानसम्बन्धी कसुर उल्लेख छ। दफा १८३ उपदफा १ अनुसार  ‘कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नु हुँदैन।’ उपदफा २ मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

यस्तै, परिच्छेद १४ मा कुटपिट वा अंगभंगसम्बन्धी कसुर उल्लेख छ। दफा १९१ अनुसार कुनै किसिमको शारीरिक पीडा पुगाएमा, कुनै रोग सारेमा, कुनै कार्य गरी अशक्त बनाएमा, आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा, नाकको सुँघ्ने, कानको सुन्ने र जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा, महिलाको स्तन काटिदिएमा, महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा, मेरुदण्ड, डँडाल्नुु, हातखुट्टा वा त्यस्ता अंगको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा, आफ्नो पेसा गर्न नसक्ने गरी असक्षम बनाइदिएमा उक्त कसुर गरेको मानिने उल्लेख छ।

यस्तो अपराधमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय तथा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै, गम्भीर उत्तेजना वा रिसको आवेशबाट कुटपिट गरी अंगभंग गरेको रहेछ भने दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुन्छ।

तर, कुन अवस्थामा ज्यान मार्ने उद्योग मुद्दा आकर्षित हुन्छ भन्ने विषय संहितामा कतै व्याख्या गरिएको छैन। जब कि, कुटपिट वा अंगभंगसम्बन्धी कसुरबारे संहितामा सप्रसंग व्याख्या भएको छ । साथै सुदूरपश्चिममा चालु आर्थिक वर्षको माघ मसान्तसम्म कर्तव्य ज्यान अन्तर्गत ८ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस