राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत
काठमाडौं: सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ । बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै देशको एकमात्र गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने निर्णय गरिएको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । पछि जनआन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले विभागलाई पुनः गृह मन्त्रालय मातहत फर्काएको थियो ।
प्रतिनिधि सभा निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गरेका प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पुनः गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने निर्णय गरेको हो ।
सरकारले गत १५ चैतमा सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र २०८२’ मा पनि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सुझाव दिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजक रहेको समितिले तयार पारेको उक्त मार्गचित्रमा विभागलाई बारम्बार मन्त्रालय परिवर्तन नगरी स्थायित्व दिन प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने उल्लेख गरिएको थियो ।
मार्गचित्रमा यो व्यवस्था तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिइएको थियो । सोही सिफारिसअनुसार सरकारले अहिले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको स्रोतले जनाएको छ।