यहाँ बोलिरहँदा पद गएको पनि हुनसक्छ : कानुन मन्त्री भट्ट
धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बोल्दा बोल्दै पद गएको हुन सक्ने बताएका छन्।
उनले धनगढीमा सञ्चारिका समूहले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समावेशीको सवाल विषयक तालिमको समापन समारोहमा जुनसुकै बेला पनि मन्त्री पद जान सक्ने बताएका हुन्। उनले भने, ‘अहिले के हुन्छ थाहा छैन मलाई। म यहाँ बोलिरहेको छु। मेरै मन्त्री पद गएको पनि हुन सक्छ।’
नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिएका छन्। प्रदेशमा काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू छन्। काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा रहेका बेला केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)लाई बुधवार विश्वासको मत दिएको छ।
केन्द्रमा नयाँ गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश सरकारमा छ। प्रदेश सरकारबाट नागरिक उन्मुक्ति बाहिर गएको छैन। नागरिक उन्मुक्तिका सात र एक राप्रपा तथा एक स्वतन्त्र प्रदेश सभा सदस्यको साथ काँग्रेसलाई आवश्यक छ। नेपाली काँग्रेससँग १८ जना प्रदेश सभा सदस्य मात्र छन। सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभा सदस्यहरूको मत आवश्यक हुन्छ।
केन्द्रीय राजनीति फेरिएकाले सुदूरपश्चिमका कानुन मन्त्री भट्टले पद जुनसुकै बेला जाने अवस्था रहेको बताएका हुन्।