एमालेका अध्यक्ष ओली सुदूरपश्चिम आउँदै
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउँदैछन्। एमाले कञ्चनपुरको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली सुदूरपश्चिम आउने भएका हुन्। महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कञ्चनपुरले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार उनी सवारी विमान काठमाडौँबाट उडेको छ। तर, धनगढी विमानस्थलमा अवतरण भएको छैन।
ओलीले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ। उनले महाकालीमा निर्माण गरिएको पक्की पुलकोसमेत निरीक्षण गर्ने छन्। ओलीले कञ्चनपुरमा दोधारा चाँदनी नगरपालिका– ६ को वडा कार्यालय उद्घाटन गर्ने छन्। त्यसपछि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम छ। महेन्द्रनगरको मदन भण्डारी आधारभूत विद्यालयको भवन उद्घाटन गरेर ओली एमाले जिल्ला अधिवेशन उद्घाटनका लागि संविधानचोक पुग्नेछन्।
यसपछि साँझ ४ बजे शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उनी बिहिवार नै काठमाडौँ फर्किने छन्।
एमाले कञ्चनपुर जिल्ला अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका छन्। जसमा कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, नेताद्वय अशोक चन्द र हीरा चन्द छन्।
जिल्ला अधिवेशनका लागि ४६४ जना प्रतिनिधि छनोट भएका छन्।