हुलाकी राजमार्गः निर्माण कम्पनीले पाएनन् काम गरेको दुई अर्ब भुक्तानी
धनगढीः कैलालीमा ६९ किलोमिटर र कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी राजमार्ग ठेक्कामार्फत निर्माण हँदैछ।
कञ्चनपुरमा २०६६/७७ देखि सडक निर्माणको काम सुरु भएको हो। अहिले दुबै जिल्लामा हुलाकी राजमार्ग र पुल निर्माणका लागि १७ वटा ठेक्का सम्झौता मार्फत काम भइरहेको छ। तर, नेपाल सरकारले कैलाली–कञ्चनपुरमा हुलाकी सडक र पुलहरू निर्माण गरेका १७ वटा कम्पनीलाई २ अर्ब भुक्तानी दिएको छैन। तर, यो क्षेत्रबाट प्रतिनिधि सभाका सदस्यहरूलाई बजेटको विषयमा जानकारीसमेत छैन।
कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङले बजेटका कारण राजमार्ग निर्माणको काम नरोकिने बताए। उनले भने, ‘ठेकेदारले भनेका छैनन्। जनताले बाटो नबनेको गुनासो गर्दै आउनुभएको छ। पैसा नभएको कारणले काम नरोकिनुपर्ने हो। के रहेछ, म बुझ्छु।’ हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ थप बजेट माग गरेको छ।
सङ्घीय सरकारले विनियोजन गरेको ३९ करोड खर्च भएपछि योजना कार्यालयले थप ४५ करोड बजेट माग गरेको हो। तर, सङ्घीय सरकारले बजेट दिएको छैन। बजेट अभावका कारण काम रोकिने अवस्था आएको योजना कार्यालयको दाबी छ। यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई भने यो विषयमा जानकारीसम्म छैन। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले प्रि–बजेटमा छलफल गर्ने बताए। उनले भने, ‘हामीले पहल गर्ने हो।
सरकारसँग बजेट छैन। प्रि–बजेटको छलफल चलेको छ। हामी कुरा चलाउछौ।’ २०८० सालको पुस महिनामा कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको समय रहेको थियो। तर, चालु आर्थिक वर्षमा विनियोजन भएको रकम पूरा खर्च भएको छ। बजेट अभावका कारण काम रोकिने अवस्था आएको भएपनि नेताहरूले पहलसमेत गर्न सकेका छैनन्। पन्तले भने, ‘अरू योजना पनि छन्। छलफल चलेको छ। पुराना योजनालाई प्राथमिकता दिन छलफल गर्नेछौ। भोलिदेखि छलफल सुरु हुन्छ।’
कैलालीको धनगढीदेखि सत्तीसम्म ६९ किलोमिटरमा आधा स्तरवृद्धिको काम पूरा भएको छ। कञ्चनपुरमा ३६ किलोमिटरमा काम पूरा भएको छ। कैलालीमा रहेको कान्द्र पुल निर्माणको काम सकिएको छ। कान्द्रामा नदी नियन्त्रणको समेत योजना रहेको छ। कञ्चनपुरमा एक पुलसहित दुईवटा कलभर्ट निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ। हुलाकी राजमार्ग, धनगढीले १७ वटा ठेक्का मार्फत सडक, पुल, कलभर्ट र नदी नियन्त्रणको काम हुँदैछ। तर, बजेट अभावका कारण काम ठप्प हुने अवस्था आउदा पनि पहल भएको छैन।