सुक्खा बन्दरगाह र दैजी छेलाको काम एक कदम पनि अगाडि बढेनः मन्त्री भण्डारी
धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिममा सुक्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र र हरैया सेजको काम अगाडि नबढेको बताएको छ। धनगढीमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री भण्डारीले एमालेले सुरु गरेका ठुला कामहरू एक कदम पनि अगाडि नबढेको बताएका हुन्।
उनले आफ्नो पहिलो प्रार्थमिकता सुदूरपश्चिमका खानीहरूको अध्ययन र उत्खनन रहने बताए। उनले भने, ‘सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ। म त्यसको अध्ययन र उत्खननका लागि लाग्नेछु। सुदूरका फलाम, तामा र अन्य खानीहरू मेरो प्रार्थमिकतामा छन्।’ आफू यसअघि मन्त्री हुँदा सुरु गरेका कामहरू जहाँको त्यही पाएको उनले बताए। ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको काम एक कदम पनि अगाडि बढेको रहेनछ। मैले जे सुरुवात गरेको थिए, आज पनि त्यही पाए,’ उनले भने।
कञ्चनपुरकै दैजी छेलामा बन्ने भनिएको विषेश औद्योगिक क्षेत्र, कैलालीको हरैया बनाईन भनिएको सेजको काम पनि अगाडि नबढेको भण्डारीले बताए। ‘दैजीको विषेश आर्थिक क्षेत्रको तत्कालीन प्रधानमन्त्री केपी शमा ओलीले उद्घाटन गर्नुभयो। तर, त्यसपछिको सरकारले त्यसमा कुनै ध्यान नै नदिएको पाए। वनको कामसमेत पूरा भएको छैन,’ उनले भने।