सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म रोकिएकोबारे ‘काँडेतार’ निर्माताले दिए प्रदर्शक र निर्माता संघमा उजुरी

२०८० फाल्गुन २७, ०९:२६ खबर संवाददाता

काठमाडौंः निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोकिएको सम्बन्धमा आइतवार चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन्।

दुवै संस्थाको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ। आफ्नो फिल्मलाई प्राइम टाइममा शो नदिएर हेपाहा प्रवृत्ति देखाइएको भन्दै खड्काले उजुरीमा के कति कारणले फिल्मलाई पाखा लगाइयो भनेर प्रश्न गरेका छन्।

राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्मलाई किनारा लगाउने रणनीति प्रदर्शकले लिएको भन्दै उनले निर्माताले भोगेका समस्याको संस्थागतरुपमा समाधान गर्नुपर्ने माग राखेका छन्। उनले काठमाडौं उपत्यकाका प्रदर्शकले अमर्यादित ढंगले अव्यावसायिकता प्रदर्शन गरेको आरोप पनि लगाएका छन्।

शुक्रबार फिल्मले अपेक्षित बक्स अफिस कलेक्सन गरेपनि शनिवार शो नदिइएको उल्लेख गर्दै उनले धरानमा एक शो पनि नदिएको गुनासो गरेका छन्। एक वर्षअघि नै सेन्सर गरिएको फिल्ममाथि अर्को जुधाउन ल्याएर प्रहार गर्ने काम भएको गुनासो पनि उनको छ। आफ्नो निर्माण कम्पनी सामना फिल्म्स प्रालिको तर्फबाट खड्काले उजुरी दर्ता गरेका हुन्। 

कमेन्ट लोड गर्नुस