मिटरब्याज पीडितको आन्दोलनमा बाबुरामको ऐक्यवद्धता
काठमाडौंः पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन मार्चपासमा सहभागी भएका छन्।
भृकुटीमण्डपदेखि भद्रकालीसम्म पीडितले निकालेको मार्चपासमा सहभागी भएर उनले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
‘जनताको यो संघर्ष तपाईंहरुका विरुद्ध होइन, सत्तामा बस्ने अवसर पनि तपाईंहरुले यिनै जनताको भोट, रगत र पसिनाबाट पाउनुभएको छ’, डाक्टर भट्टराईले प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई सम्बोधन गर्दै भने, ‘किसान मजदुरको लागि केही गर्न चाहनुहुन्छ भने यो तपाईंहरुका लागि अवसर पनि हो।’ मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट अवधेश कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म पुगेका हुन्।