‘लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउन शिखर सम्मेलन’
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागनु २८ र २९ गते आयोजना गर्न लागिएको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन पर्यटन प्रवर्द्धनका लागि भएको बताएका छन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रतिनिधिका रुपमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले शिखर सम्मेलन सङ्घीय सरकारको निर्णयकै आधारमा प्रदेश सरकारले आयोजना गर्न लागेको बताए। उनले सम्मेलनमा ११ जना नोबेल पुरस्कार विजेता आउने निश्चित भएको समेत जानकारी दिए।
उनले बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउने उद्देश्यले शिखर सम्मेलन गर्न लागिएको बताए। “लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्रै होइन सबैका लागि हो”, गृहमन्त्री पाण्डेले भने, शिखर सम्मेलन लुम्बिनीको आर्थिक समृद्धिका लागि पनि हो।”