सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव सङ्कलन गर्दै
काठमाण्डाै: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिक्षा मन्त्रालयले आज काठमाण्डौमा आयोजना गरेको ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले याे प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूसँग गहन छलफल गरिएको जानकारी दिए।
छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
मन्त्री पोखरेलका अनुसार सङ्कलित सुझावहरूलाई आवश्यकताका आधारमा ऐन, नियमावली तथा नीतिगत तहमा समावेश गरी विधिगत रूपमा कार्यान्वयन गरिनेछ । मन्त्रालयले यस प्रक्रियामा पूर्ण पारदर्शिता अपनाउने उनको भनाइ छ ।
विधेयक निर्माणको काम अझै चलिरहेको र यो अन्तिम चरण नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले विधेयक सङ्घीय संसद्मा छलफल भई राजपत्रमा प्रकाशित नहुन्जेलसम्म सुझाव सङ्कलनको क्रम नरोकिने बताए।
सुझाव सङ्कलनका लागि उपयुक्त मञ्चको समेत व्यवस्था गरिने र प्राप्त सुझावहरूलाई विधिगत प्रक्रियाबाट समाधान गर्न मन्त्रालय प्रयत्नशील रहने उनले विश्वास व्यक्त गरे।