सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीस्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू

२०८० फाल्गुन १५, ०६:३५ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थित हाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको छ। नगरपालिकाले मङ्गलवारबाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा सुरू भएको हो।

विगतमा पनि स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा दिन मेडिकल अधिकृतको नियुक्त गरिएको भएपनि केही समयदेखि चिकित्सक अभावमा सेवा अवरुद्ध भएको थियो। मङ्गलवार नगरपालिकाले डाक्टर स्मृति लामा थिङलाई मेडिकल अधिकृतमा नियुक्त गरेसँगै चिकित्सकीय सेवा सुरू भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले डाक्टर थिङको नियुक्तिसँगै समान्य चिकित्सा सेवा स्वास्थ्य चौकीबाट प्रदान गर्न सहज हुने बताए।

पुर्चौडीमा चिकित्सक नहुँदा बिरामी हुँदा स्थानीयले उपचार पाउन डडेल्धुरा अस्पताल धाउनुपर्ने समस्या भोग्नु परेको थियो। हाट स्वास्थ्य चौकीमा डाक्टरको नियुक्ति भए पश्चात् समान्य बिरामी हुँदासमेत डडेल्धुरा र धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

कमेन्ट लोड गर्नुस