सुदूर नेपाललाई विश्वसँग जोड्दै

के तपाईं असल लोग्ने हो ? 

२०८० फाल्गुन १५, १०:२६

डाक्टर गोविन्दशरण उपाध्यायः परोक्त प्रश्नको उत्तर हरेक लोग्नेले आफूतिर फर्केर सोध्नुपर्छ। विश्वका अनेकौं जर्नल र लेखकहरूले "असल लोग्नेका अनेकौं गुण"वारे थुप्रै लेखेका छन्। तर ती सबैजसो नेपाल र नेपालीको वास्तविक परिस्थितिसंग मेल खाए काकताली सम्झिनु पर्छ। आजको नेपाली समाज अत्यन्त गतिशील छ। केवल १० वर्षको अन्तरालमा धेरै व्याबहारिक परिवर्तन भएको अनुभव गर्न सकिन्छ। तर मान्छेलाई सधैं इतिहास मन पर्ने हुँदा संस्कृतिको सवालमा अलिअलि "पुरानो कुरा"लाई महत्व दिन्छ।

आजको लोग्नेले आफुलाई असल "लोग्ने"का रूपमा स्थापित गर्न बहुमुखी दृष्टिकोण बोकेको हुनुपर्छ। मुख्यतया सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, भौतिक र आध्यात्मिक आयामहरू बुझेको र त्यसैअनुसार काम गर्ने हुनुपर्छ। हिजो लोग्नेस्वास्नीका विचमा धार्मिक र सांस्कृतिक क्रियाकलापहरू बलिया हुन्थे भने आजको लोग्नेले आफ्नी स्वास्नीको सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, शारीरिक तथा आध्यात्मिक स्वास्थ्यको व्यावहारिक प्रयोग जानेको हुनुपर्छ। 

(१) भौतिक सहयोगी : एउटा असल लोग्नेले आफ्नी प्रियाको भौतिक आवश्यकताहरूलाई राम्ररी बुझेको र त्यसलाई सम्मान गर्ने गुण हुनुपर्छ। भौतिक आवश्यकता भन्नले स्वास्नीको शरीरमा सन्चोविसन्चो भएको, केटाकेटी हुर्काउन सहयोग गर्ने, यौनका सवालमा सहमति लिने, भान्छामा होस् वा अन्य भौतिककाममा सहयोग गर्ने तथा पत्नीको भौतिक आवश्यकता र अभिरुचि पूरा गर्न सघाउने र हरेक काममा सहकार्य गर्ने लोग्ने असल हुन्छ। 

उदारहणका लागि नेपाली लोग्नेहरू त्यति सहयोगी हुँदैनन्। एकै अफिसमा काम गर्ने "लोग्नेस्वास्नी"हरू फर्केर घर आएपछि स्वास्नी घरासयी काममा खट्छन् तर लोग्नेहरू "उपरखुट्टी लगाएर टेलिभिजन हेर्दै स्वास्नीलाई चियाको  आदेश दिन्छन्। असल लोग्नेहरूले अफिसबाट फर्केपछि पत्नीलाई सघाउन संगै चिया बनाउँछन्। के तपाईंले आफ्नी स्वास्नीलाई पत्नीसंग मिलेर वा पत्नीलाई असजिलो भएको बुझेर काममा सघाउनु हुन्छ ? 

(२) सामाजिक सहयोग : अहिलेको नेपाली समाज निकै वदलिएको छ। लोग्नेलाई स्वामी मानेर ढोग्ने र कजिने युग धेरै सीमासम्म हटेको छ। स्वास्नीहरू स्वतन्त्र वा लोग्नेसंग मिलेर सामाजिक, सांस्कृतिक तथा धार्मिक काममा सक्रिय हुन चाहन्छन्। के तपाईंले आफ्नी स्वास्नीलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा समावेश हुन् सहयोग गर्नुभएको छ ? यदि गर्नुहुन्छ भने सायद तपाईं असल लोग्ने हो।

उदाहरणका लागि तपाईंको स्वास्नी श्रीस्वस्थानी देवीको ब्रत बस्न इच्छा गर्नुहुन्छ। त्यो एक महिनाको कठोर ब्रत हो। यसले तपाईंकी स्वास्नीको धार्मिक भक्कल पूर्ण हुन्छ। उनीले स्वस्थानी ब्रतवस्न तपाईंको सहयोग चाहन्छिन्। यसै गरी तपाईं की स्वास्नी महिला समूहको आयोजनामा नेपालका पर्यटनस्थलको भ्रमण गर्न जान चाहनुहुन्छ। तपाईंकी स्वास्नीले हरेक धार्मिक, सामाजिक तथा सांस्कृतिक कामहरूमा तपाईंसंगै देखिन चाहनु हुन्छ ? यदि तपाईंले सहजरूपमा यी सबैमा सहमति प्रदान गर्नुहुन्छ भने तपाईं असल लोग्नेका श्रेणीमा पर्नु हुन्छ।

(३) मनोबैज्ञानिक सहयोग : तपाईंकी स्वास्नीको पनि तपाईंकोझैं एउटा स्वत्रन्त्र मन छ।  त्यसमा अनेकौं भावनाहरू छन्। त्यो भावनाले प्रेम, सहयोग, सम्मान, समानानुभूति. करूणा, दया, ममता तथा कोमलताआदि चाहन्छन्। तपाईंकी स्वास्नीको मन कहिले दुख्छ, कहिले खुसी हुन्छ।  कहिले खिन्न हुन्छ। यस्तो अवस्थामा तपाईंले आफ्नी स्वास्नीको हात समातेर "न रोऊ, म छु नि, तिम्रो भावना म बुझ्छु, तिमी एक्लो छैनौं ? भन्न सक्नुहुन्छ ? हो, नेपाली लोग्ने र स्वास्नी दूवै मौन-प्रेम गर्ने श्रेणीमा पर्छन् तर यसको अर्थ मानसिक सहयोग नै चाहिन्न भन्नेचाहिं हुँदैन।

उदाहरणका लागि तपाईंकी स्वास्नीलाई "अग्लो ठाउँसंग डर लाग्छ। उनी हवाईजहाज चढ्न वा अग्लो ठाउँमा जान मन पराउन्नन्। तर सडक बालबालिकाको हेरविचार गर्न निकै मन लाग्छ। तपाईंले आफ्नी स्वास्नीको डरको सम्मान गर्नुहुन्छ कि "नाटक गर्छे" भन्दै जवर्जस्ती अग्लोतिर लैजानु हुन्छ ? यदि मनोबैज्ञानिक परामर्शदाताको सहयोग प्राप्त गर्ने र डरको सम्मान गर्नुहुन्छ भने सायद तपाईं असल पति हो। मानसिक तनाव, डर, त्रास, उत्सुकता, उदासीनतामा तपाईं सबैभन्दा बढी सहयोगी बन्न चाहनुहुन्छ तपाईं असल लोग्ने हुनुहुन्छ।

(४) आध्यात्मिक सहयोग : हरेक व्यक्तिले आफ्नो जीवनको एउटा वा अधिक लक्ष र अर्थ बोकेको हुन्छ। उसले आफ्नो र जगतको सम्वन्ध, असल कमसलको सीमारेखा, स्वर्गनर्कको दुखसुख, पूर्णता, सुख र सन्तोषमय जीवन प्राप्त गर्ने इच्छा पूर्ण गर्न चाहन्छे। धर्म, अर्थ, काम र मोक्ष हिन्दूहरूका पुरुषार्थ हुन्।  धर्म, अर्थ र कामका विषयमा अगाडी लेखी सकियो। एउटा लोग्नेले स्वास्नीलाई जगत-जीवनको अर्थ प्राप्त गर्न सघाउनु पर्छ। आध्यात्मिक जीवनले जीवनको अर्थ दिन्छ।
-उदाहरणका लागि स्वास्नी भन्नुहुन्छ - मलाई ध्यानमा वस्दा अतिपूर्णताको अनुभूति हुन्छ। मन तथा बुद्धिसंग जोडिएका खाली पानाहरू भरिएजस्तो लाग्छ। यदि तपाईंले आफ्नी स्वास्नीलाई आफ्नो जीवनको अर्थ खोज्न मदत गर्नुहुन्छ भने तपाईं असल लोग्ने हुनुहुन्छ।

यस वाहेक स्वास्नीसंग राम्रोभाषा र आदरपूर्वक आफ्ना कुरा भन्ने र सुन्ने, विमतिहरूका सवालमा शान्तिपूर्वक छलफल गर्ने, घरायसी काममा सहकार्य गर्ने, केटाकेटी र परिवारलाई संगै हेरविचार गर्ने र कुनै पनि हालतमा स्वास्नीको आलोचना अरूसंग नगर्ने र प्रेमपूर्वक धन्यवाद दिने र ग्रहण गर्नेहरू पनि असल लोग्नेमा पर्छन्। यद्यपि हरेक व्यक्तिको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जातीय नीतिहरूका आधारमा असल लोग्नेका फरक परिभाषा र बुझाई हुनसक्छन् तर उपरोक्त चारप्रकारका सहयोगीहरू असल लोग्नेका श्रेणीमा पर्छन्। हामी असल लोग्ने बन्यौं भने स्वास्नीसंग असल बन्नुको विकल्प नै रहन्न |  असल लोग्नेस्वास्नी भएको घर, परिवार सधैं सुखी सधैं खुसी हुन्छ।
अस्तु स्वस्ति
 

कमेन्ट लोड गर्नुस