पश्चिम बङ्गालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन
कोलकाता : भारतमा भारी वर्षापछि पश्चिम बङ्गालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड भागेको राज्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
अक्टोबर ३ देखि राज्यभरि बाढी र भूस्खलनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। भारी वर्षाले सयौँ घर ध्वस्त पारेको छ, चिया बगानहरू बगाएको छ र सडकहरू दुर्गम भएका छन्।
बाढीले गोरुमारा र जलदापारा राष्ट्रिय निकुञ्जको ठूलो भाग डुबाएको छ। यो निकुञ्जले हिमाली फेदमा संरक्षित आरक्षहरूमा हात्ती, अर्ना, बाघ र लुप्तप्राय एक सिङ्गे गैँडालाई आश्रय दिएको छ। “दुईवटा वन्यजन्तु निकुञ्ज बाढीको पानीमा डुबेका कारण जनावरहरू बाहिर निस्कन बाध्य भएका छन”, पश्चिम बङ्गालका वनमन्त्री वीरबाह हंसडाले भने। उनका अनुसार ३० हात्तीको झुण्ड भागेको थियो। पानीबाट भागिरहेको देखिएको थियो।
एउटा चितुवा ‘धमिलो पानी’ मा देखिएको थियो, तर त्यसबेलादेखि देखिएको छैन। केही जनावरहरू भाग्न सकेनन्। “नदीको किनारमा मरेका जनावरहरूको शव निस्कन थालेको छ”, उनले मरेका जनावरहरूमा दुई चितुवा, एउटा गैँडा र धेरै अर्ना र हरिण रहेको जानकारी दिँदै भने।
केही उद्धारहरू सफल भए। “नदीको किनारमा फसेको एउटा वयस्क गैँडा र दुई हात्तीको छावालाई बाहिर निकाल्न दुई बन्दी हात्तीहरू प्रयोग गरिएको थियो”, उनले भने।
भारतको एक सिङ्गे एसियाली गैँडाको जनसङ्ख्या विगत चार दशकमा संरक्षण प्रयास र अवैध शिकार विरोधी कदमका कारण लगभग तीन गुणा बढेको छ। चार दशक पहिले एक हजार पाँच सय रहेको जनसङ्ख्या अहिले चार हजारभन्दा बढी छ।