सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालमा १० शय्याको अस्पताल भवनको काम अलपत्र

फोटो : रमित पाण्डे
फोटो : रमित पाण्डे
२०८० फाल्गुन १०, ०१:२६ खबर संवाददाता

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकामा १० शय्याको अस्पताल अभाव निर्माणको काम अलपत्र परेको छ। जिल्लाको दुर्गम गाउँपालिकामा पालिका स्तरीय अस्पताल निर्माणको काम बजेट अभावले अलपत्र परेको हो।

सङ्घीय सरकारको ६ करोडको लागतमा निर्माण थालिएको अस्पताल भवनको काम ४० प्रतिशत पूरा भएको छ। तर, अहिलेसम्म निर्माण कम्पनीले एक करोड ७० लाख मात्र भुक्तानी पाएको छ। सङ्घीय स्वास्थ्य मन्त्रालयले बजेट भुक्तानी नदिएकाले निर्माण कम्पनीलाई काम गरेको रकमसमेत दिन नसकिएको गाउँपालिकाले बताएको छ। इन्जिनियर योगेन्द्र भण्डारीले भने, ‘हाल भइरहेको कामको पनि भुक्तानी दिन सकिएको छैन। निर्माण कम्पनीलाई पालिकाले एक करोड रुपियाँ पेस्की दिएको थियो । त्यसपछिको कामको भुक्तानी हुन सकेको छैन।’

चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको उनले बताए। ‘बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौँ। तर, बजेट निकासा भएको छैन।’

मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र बनेको छ । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्ष थप गरिएको छ।

अस्पताल भवनको ढलानको काम भइरहेको छ । अस्पताल फाउन्डेसनको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउने तयारी भइरहेको छ। तर, बजेट नआएकाले ढिलो भएको गाउँपालिकाले बताएको छ।

प्रत्येक पालिकामा १० वा १५ शय्याको अस्पताल बनाउने सरकारको कार्यक्रम अनुसार मोहन्यालको वडा नम्बर ६, सोल्टामा १० शय्याको अस्पताल निर्माण अगाडि बढाइएको थियो । उक्त अस्पताल निर्माणको प्रशंसा जेभीसँग ६ करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको हो। एक तलाको भवन निर्माणका लागि २ वर्षका लागि सम्झौता भएको थियो। सम्झौताको अवधि सकिएकाले एक वर्ष थप गरिएको छ।

 

कमेन्ट लोड गर्नुस