सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा ‘कान्जी हाउस’ भित्र करिब चार सय गाई मरेको खुलासा

२०८० फाल्गुन ९, ०७:१२ नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित सेहरीको लक्ष्मी महिला सामुदायिक वनमा करिब चार सय गाई मरेको खुलेको छ। स्थानीयले गत साउनदेखि कान्जी हाउस निर्माण गरेर राखेका गाई भदौदेखि माघसम्म ६ महिनाको अवधिमा मरेका हुन्।

खुटिया नदीको किनारमा निर्माण गरिएको कान्जी हाउसमा राखिएका गाई खाना र उचित रेखदेखको अभावमा मरेको पाइएको हो। स्थानीयको बालीनाली नोक्सान हुनबाट जोगाउन तारबार लगाएर थुनेका गाई खानाको अभाव तथा बिरामीको कारण मरेको दाबी गरिएको छ। ठुलो सङ्ख्यामा गाई मरेको भएपनि स्थानीय सरकार भने यो विषयमा अनभिज्ञ रहेको पाइएको छ। साउनदेखि कान्जी हाउसमा राखिएका गाई भदौबाट मर्न थालेको गाई हेरालु स्थानीय नरसिंह बोहराले बताए। ‘साउनमा कान्जी हाउसमा गाई राखिएको हो। भदौबाट मर्न थालेका हुन्। जाडो बढेपछि माघमा सबभन्दा बढी चौपाया मरेका छन्,’ बोहराले दिनेशखबरसँग भने।

खुला आकाश मुनि गाई थुनियो

खुटिया नदीको किनारमा बनाइएको कान्जी हाउसमा थुनिएका गाई–गोरु स्थानीयका नभएर अन्यत्रबाट गाउँमा आएको स्थानीय मदनराज भण्डारी बताउँछन्। उनले अन्तबाट आएका गाई–गोरुले बालीनाली नास गर्न थालेपछि कान्जी हाउसमा राखिएको बताए। उनले भने, ‘भोक र चिसोका कारण चौपाया मरेका हुन्।’ नदीको बगरमा निर्मित कान्जी हाउसमा तारबार लगाउनु बाहेक अन्य कुनै व्यवस्थापन गरिएको छैन। खुला बगरमा चौपाया थुनेर मार्ने प्रपञ्च रचिएको स्थानीय बिराज बिष्टले बताए।

लक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समूहका सचिव दुर्गाप्रसाद भण्डारीले स्थानीयको दबाबका कारण वनमा कान्जी हाउस राख्न दिएको बताएका छन्। उनले भने, ‘स्थानीयले दबाब दिए। हामीले वडा अध्यक्षसँग समन्वय गरेर गाई राख्ने निर्णय गरेका हौँ। वडा अध्यक्षको संयोजकत्वमा नै गाई राख्ने निर्णय भएको हो।’

माघमा सबैभन्दा बढी गाई मरे

माघमा अत्यधिक सङ्ख्यामा चौपाया मरेको गाई हेरालु नरसिंह बोहराले बताए। खेतम लगाएको अन्नबाली जोगाउन कान्जी हाउसमा थुनिएका चौपायाको हत्या गरिएको स्थानीय विराज बिष्टले बताए। ‘यहाँ गाईहरूको हत्या भएको छ। गाईको हत्या हुनुमा तीनै तहको सरकार जिम्मेवार छ,’ उनले भने, ‘गाईलाई खाना र पानी नदिएर मार्ने काम भएको छ।’

वडा अध्यक्षको संयोजकत्वमा गठन भएको सामुदायिक चौपाया व्यवस्थापन समितिले हरेक घरबाट मासिक सय रुपैयाँ उठाएर चौपाया हेरालुलाई दिने निर्णय भएको सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष अनिता चौधरीले बताइन्। कान्जी हाउसमा राखिएका चौपाया बिरामी हुँदा उपचार नगरिएकाले मरेको हुनसक्ने चौधरीको अनुमान छ। ‘हामीले ठाउँ उपलब्ध गराएका हौँ। गत साउन २ गते बसेको समूहको बैठकले गाई राख्न दिने निर्णय गरेको हो,’ उनले भनिन्, ‘गाई व्यवस्थापन गर्न वडा अध्यक्ष रामलाल रानाको संयोजकत्वमा समिति गठन भएर काम भएको हो।’

गाई मरेको विषयमा वडा अध्यक्ष अनभिज्ञ

वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाको संयोजकत्वमा गठित गाई व्यवस्थापन समितिले सामुदायिक वनमा गाई राख्ने निर्णय गरेको हो। स्थानीय हरेक परिवारबाट मासिक एक सय रुपैयाँ सङ्कलन गरेर गाई हेर्न स्थानीय आठ जनालाई जिम्मेवारी दिइएको थियो। सुरुमा गाईको सङ्ख्या बढी भएपनि अहिले अधिकांश मरेका कारण एक सया गाई मात्रै बाँचेका छन्।

गाईको सङ्ख्या घटेसँगै अहिले तीन जना हेरालुले गाईको रेखदेख गर्दै आएका छन्। खुटिया नदीको पारि तर्फको बगरमा कान्जी हाउस र वारितर्फ ९ नम्बर वडा कार्यालय छ। वडा कार्यालयमा पशुपन्छी उपचार केन्द्र छ। तर, उचित आहार र छाला पाक्ने बिरामी लम्कीस्किनको सङ्क्रमणले गाई मरेको दाबी गरिएको छ।

उपचार र उचित आहार तथा गोठको व्यवस्थापन गर्न वडा तथा नगरपालिकाले बेवास्ता गर्दा करिब चार सय गाई ६ महिनाको अन्तरालमा मरेका छन्। सामुदायिक गाई राख्न संयोजकको भूमिका निर्वाह गरेका वडा अध्यक्ष रानाले भने बिरामी परेर गाई मर्न लागेको कुरा आफूलाई कसैले नभनेको बताएका छन्। ‘मलाई गाई बिरामीले मर्दैछन भनेर कसैले भनेन,’ उनले भने, ‘गाई मर्न लागेको कुरा भनेको भए उपचारको व्यवस्था मिलाइन्थ्यो। मैले पनि चार÷पाँच दिन अगाडि मात्रै थाहा पाएको हुँ।’

गाईले ठुलो परिमाणमा प्लास्टिक खाए

सामुदायिक पशु चौपायाको व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएपनि गोदावरीमा यति ठुलो सङ्ख्यामा मरेका गाई–गोरुको विषयमा मिडियामा समाचार आएपछि मात्रै वडा अध्यक्षले गाई मरेको घटना थाहा पाएको प्रतिक्रिया दिएका छन्। कान्जी हाउको तारबार भित्र र बाहिर मरेका चौपायाका छाला र कङ्काल असरल्ल छोडिएको छ।

मरेका गाईहरूले ठूलो परिमाणमा प्लास्टिक खाएको समेत देख्न सकिन्छ। ठूलो सङ्ख्यामा गाई मरेको विषय सार्वजनिक भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ। खाना र ओत लाग्ने ठाउँको अभावमा चौपाया मरेको देखिन आएकाले अब उप्रान्त यस्तो घटना दोहरिन नदिन सबै उपाय अपनाउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। ‘स्थानीय गाई हेरालुले लम्पीस्किन रोगले गाई मरेको भनेका छन्। यो कुराको पनि जाँच हुन्छ,’ उनले भने, ‘यस्तो घटना दोहरिन नदिन हामीले सबै उपाय अपनाउने छौँ।’

गाईसँगै गिद्ध पनि मरेको पाइयो

गोदावरीको सेहरीमा बनाइएको कान्जी हाउस केवल तारबारले मात्र बेरिएको छ। कान्जी हाउसमा चौपायालाई खुवाउन पराल या भुसाको कुनै व्यवस्था गरिएको छैन। पशुलाई साँझ ४ बजे हुल्ने र बिहान १० बजे बाहिर निकाल्ने गरिएको छ। जाडो, गर्मी र पानी परिरहेको अवस्थामा चौपायालाई ओतलाग्ने कुनै संरचना निर्माण गरिएको छैन। जसका कारण माघ महिनाको जाडोमा सबभन्दा बढी चौपाया मरेको स्थानीय गाई हेरालुले नरसिंह बोहराले बताएका छन्।

सयौँ गाईका कङ्काल असरल्ल परेकोमा एक स्थानमा गिद्धसमेत मरेको पाइएको छ। छोटो समयमा करिब चार सयको सङ्ख्यामा गाई मरेको स्थानमा गिद्ध समेत मरेको भेटिएपछि चौपाया मार्न कुनै विषादीको प्रयोग त गरिएन भन्ने आशँका गरिएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस