सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको हुनैनाथ बाजस्थानको महिमा र गोठ्युडी गाउँको चिनारी 

२०८० फाल्गुन ८, ११:१५

मान सिंह धामी : सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गोठ्युडीमा हुनैनाथ बाजस्थान मन्दिर अवस्थित छ । वरदानी ढोकाको नामले चर्चित हुनैनाथ कसैको संरक्षणको पर्खाइमा रहेका बेला पर्खेको मान्छेहरूले कुनै पर्वाह नगर्दा हुन्शिखर दुःखी भएको कुरा महसुस गरिएको छ । कुरा यथार्थ हो है ! 
सायद म बढी आध्यात्मिक भएर होकि !  यसको अर्थ अन्यथा नलागेर जनता रिसाएका भन्ने बुझ्नु पर्दछ । यस आर्थिक वर्ष २०७९÷०८० मा संघ, प्रदेश वा स्थानीय तहबाट  उक्त मन्दिर गाउँमा कुनै एक योजना सम्म पनि नपर्नु बिडम्बना नै भन्नु पर्दछ । दुःखमा वन्दना, सुखमा हुनैनाथलाई बिर्सिएमा हुनैनाथ स्वामीले ईच्छित फल देलान त ! हुन्शिखर जुन नामले पुकारे पनि शिव रुप नै हुन् । काठमाण्डौमा पशुपतिनाथ मन्दिर शिवजीको मूल मन्दिर भए पनि नेपालका विभिन्न ठाउँहरूमा शिव, पशुपति मन्दिरहरू रहेका छन् ।
 शिव महादेवका नाम र रुप अनेक भए झैं हुन्शिखर पनि एक हो । हुन्शिखरका पनि अनेक नामहरू मध्ये हुनैनाथ, हुष्कर, गोल्जु देवता आदि नामहरू रहेका छन् । हुन्शिखरको मूल वासस्थान औतालेक भए पनि शिव ज्योतिर्लिङ्गको एक हिस्सा गोठ्युडी बाजस्थानमा प्राचीनकालमा देखापरि पूर्वजहरूले उक्त ज्योतिर्लिङ्गको महिमा तथा वरदान र अदभूत शक्ति देखेर आफूहरू प्रफुल्ल भई सोहि दिनदेखि उक्त लिङ्गको धूप,दीप, फूल, अक्षता, चन्दन सहित पूजापाठ गर्दा मन्दिर समेत चमत्कारिकरुपमा निर्माण भएको कुरा जनश्रुतिमा आधारित छ । दौल सिंह भाट (धामी) मा देव वाणीभई हुन्शिखरको ज्योतिर्लिङ्ग बाजस्थानमा फेला परेको र सोही दिनदेखि धूप,दीप सहित उक्त लिङ्गको पूजन गर्न थालिएको हो भनेर गाउँका बुढापाका जानकारहरू बताउने गर्दछन । हुनैनाथ बाजस्थानमा हुनैनाथको ज्योतिर्लिङ्ग नै हो । 
अनजानमा कसैले बालीचन देवताको मन्दिर बुझे पनि बाजस्थान हुन्शिखर मन्दिर नै भएको व्यहोरा अनुरोध गर्न चाहे । साथै मन्दिरपनि चमत्कारिक रुपमा निर्माण भएको जनश्रुति रहेको छ । हुनैनाथ बाजस्थान मन्दिरलाई बरदानी ढोका पनि भनिन्छ ।  चोखोभोकोभई तनमनले बाजस्थानको आराधना गरेमा वा पूजापाठ गरेमा निःसन्तानलाई सन्तान, निर्धनीलाई धन लाभहुने, सत्रु क्षयहुने जनविश्वास  रहेको छ । हुनैनाथ स्वामीको जप ध्यान गर्नाले मनले चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ ।
वि. सं. २०४०÷०४१ सालमा गाउँका भद्रभलादमी, समाजसेवी, शिक्षाप्रेमी तथा समाजका अगुवाहरूको सक्रियतामा मन्दिरको जिर्णाेद्वार भएको कुरा मलाई पनि सम्झना छ । यस मन्दिरमा प्रत्येक वर्ष हरेक धार्मिक कार्यहरू गोंरा, खेडी, जात्रा, नवरात्र, न्वाकी चढाउने, हरेलो चढाउने, विभिन्न भाकल स्परुप पूजापाठ हुने गर्दछन् । 
यसरी मैले हुनैनाथ बाजस्थान मन्दिरको बेलीविस्तार लगाउँदै गर्दा यस मन्दिरको भौगोलिक अवस्थिति वर्णन नगर्दा यो लेखनै अधुरो हुने सम्झेर थोरै भएपनि समेट्ने प्रयास गरेको छु । यो मन्दिर पूर्व दक्षिण हुनैनाथ औतालेक मन्दिर टौटाक देखिन्छ । यो ठाउँमा बाज एक प्रजाति वनस्पतिले मन्दिरलाई चारैतिरबाट घेरेको हुनाले बाजस्थान भएको हुनु पर्दछ भन्ने ठम्याई रहेको छ । यस मन्दिरको पारिपट्टी पूर्वमा रानी पातल रहेको छ । 
उत्तर माथि सिरानमा अवस्थी ब्राह्मण र भौनबाटीहरूको वस्ती रहेको छ । जातले ब्राह्मण जस्तै नाम र कामले पनि ब्राह्मणहरू निकै सभ्य, संस्कारी, शिक्षित, सहयोगी र मिलानसार पनि छन् । गाउँमा अवस्थी ब्राह्मण र भौनबाटी धामीहरूको बिचमा राम्रो मेलमिलाप तथा सहयोग आदान प्रदान हुने गरेको छ । यस मन्दिरको दक्षिण पारिपट्टी औल्लेक गुरुम, क्यासिर, सिलाजो, टाटिक, ओजिगाड लगायतका गाउँहरू रहेका छन् । मन्दिरको पश्चिम पारिपट्टी रतोडा, मालान, चोल्थी लगायतका गाउँहरू रहेका छन् ।
श्री हुौनाथ छिप्लकेदार र भागाश्रीको कोखबाट अवतार भएको कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झोडो, फाग,  सगुन आदिबाट पुष्टि हुन्छ । दोभाषे कुरा गर्दा पाठकहरुको मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हो आफूलाई पाठकको रुपमा हेर्दा ।  हुनैनाथको उत्पत्ति सम्बन्धी केही रोचक प्रसंगहरु मैले हुनैनाथको महिमा र औतालेकीहरूको संक्षिप्त वंशावलीमा उल्लेख गरिसकेको छु ।  
यस मन्दिरमा विभिन्न पर्वहरू जात, गोंरा आदिमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगल), मुर्तिहरू, भाकल सहितका केही मुर्तिको साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलको संगीतमय धुनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् । मन्दिरमा जात, गोंरा लगायतका महत्त्वपूर्ण चाडपर्वहरूमा भौनबाटा भणारी घरबाट देवताको गहना स्वरुप छात, छडी, डोली, तापदानी, चौरीगाईको पूछ, भोकर, भाला, विभिन्न मुर्तिहरू, दमाहा, रेशम वस्त्र, कुणी, पगरी, पानस, विगुल, झ्याली, शंख, गडुवा आदि पूजन सामग्रीहरू दमाहा, झ्याली, विगुल, शंखको संगीतमय धुनमा मन्दिरमा लगिन्छ ।

गोठ्युडी गाउँको चिनारी 
म हुनैनाथको बासिन्दा औल्लेकी नै भएपनि गोठ्युडी गाउँमा बसोबास भएकोले गोठ्युडी गाउँको संक्षिप्त चिनारी पाठकहरूमाझ संप्रेषणगर्नु बान्छनीय देखिन्छ । गोठ्युडी गाउँ हुनैनाथको आधा हिस्सा हो । गोठ्युडी गाउँको चिनारी लेख्दैगर्दा गोठ्युडी नाम कसरी रहन गयो भन्ने कुरा उल्लेख नगरिएमा यो लेख नै अधुरो हुने बुझाईले यस गाउँको शाब्दिक अर्थ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । 

प्राचीन कालमा मानिसहरू गाउँको टुप्पो लेकमा गाईभैंसीको गोठ कुँडो बनाउने गर्दथे । यहाँ गोठ भन्नाले गाईभैंसी बाँध्ने ठाउँ र कुँडो भन्नाले गाईभैंसीलाई खुवाउने पानी, घास पराल हुन्छ । मानिसहरू गोठकुँडी÷कुँडोबाट आएको भन्ने गर्दथे । गोठकुँडी शब्द अपभ्रंश भएर गोठ्युडी भएको हो । गोठ्युडी गाउँले व्यापक क्षेत्रफल ओगटेको छ । हाम्रो वंशावलीलाई आधार मानेर चर्चा गर्दा किडेका माहिलो छोरा बजुरेका सन्तानहरू र एक हाँगा बुबुराठलाई गोठ्युड्या भन्ने गर्दछन् । गोठ्युडी अन्तर्गतका गाउँहरू भैंसेबाटा, दोसल्ली, मालान, चोल्थी, ओजीगाड, मलबाब, सनेडा, सिन्याडी, जोशीगाउँ, रिठामा, चलघर, भुरभुरे, तल्ली भौनबाटा, च्यूरी, फेरमा, ओदले, मजाडाँडा, मौवाडी, मसाड, भौनबाटा, लेक, ऐरीछाना, सिराड, दुबाचौड लगायतका गाउँहरू पर्दछन् । यसका अलावा अवस्थीहरूको बस्ती गोठ्युडी अन्तर्गत नानीखाली, भैंराडी, छाना, ठुलीखाली, गडानी रहेकाछन् । 

बजुरे (जगते र फौंरेका पिता) र एकभाइ बुबुराठको कुरा गरिएपनि बाहेक गोठ्युडी गाउँमा लुहार, पार्की, दमाई, ओझा, अवस्थी, खत्री र हामी औल्लेकी धामीहरूको बसोबास रहेको छ । गोठ्युडी गाउँ र औल्लेक गाउँको  तुलनागर्दा भौगोलिक र जनसाङ्ख्यिक हिसाबले बराबर नै होला । हुनैनाथमा बस्ने र अरु बाहिरका मान्छेहरूले पनि ऐरीछाना बासीलाईपनि गोठ्युडे भन्नेहुँदा ऐरीछानालाई पनि यस लेखमा गोठ्युडी गाउँअन्तर्गत राखिएको छ । यस गाउँका मानिसहरू विभिन्न पेशा व्यावसाय डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियर, शिक्षक, राष्ट्र सेवक निजामती कर्मचारी, सेना, प्रहरी, औषधि व्यावसायी, व्यापारी, कृषक तथा कोही अमेरिका र अन्य वैदेशिक रोजगारीमा पनि संलग्न रहेका छन् ।
हुनैनाथ स्वामीले हामी सबैको कल्याण गरून् । जय हुनैनाथ !! धन्यवाद !
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस,धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ –४ 
गोठ्युडी, दार्चुला
स्रोत :
–  पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास,     
   महेन्द्रनगर ।
– जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
– गुगल र अन्य सामाजिक सञ्जाल ।
– पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत । 

फोटो :चन्द्र धामी
 

कमेन्ट लोड गर्नुस