सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १८.५ प्रतिशत व्यापारिक प्रतिष्ठान महिलाको स्वामित्वमा

२०८० फाल्गुन ४, १०:०७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको व्यापार स्वामित्वमा महिलाको पहुँच बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण–२०७८’ ले व्यापारमा महिलाको पहुँच बढ्दै गएको देखाएको छ। सुदूरपश्चिममा सञ्चालित व्यापारमध्ये महिलाका नाममा १८ दशमलव ५ प्रतिशत व्यापारिक प्रतिष्ठान रहेको सर्वेक्षणले देखाएको हो। 

विगतको तुलनामा व्यापारमा महिलाको संलग्नता र स्वामित्व बढेको सर्वेक्षणमा उल्लेख छ। शिक्षा, शीप, वित्तीय पहुँच र सहअस्तित्वको भावना, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग र पुरुष विदेशिने क्रम बढ्दा महिलाको संलग्नता र स्वामित्व घरेलु बजारका विधागत व्यापारमा बढेको हो।

महिलाको सहभागिता खुद्रा व्यापारमा बढी छ। व्यापारमा महिलाको संलग्नता बढी भएको सुचीमा सुदूरपश्चिम पनि परेको छ। थोक, खुद्रा, मोटरको व्यापार र मर्मतजस्ता क्षेत्रका व्यापारमा महिलाको संलग्नता बढ्दै जाँदा स्वामित्वमा पनि बढोत्तरी देखिएको छ। पुरुषको तुलनामा आफ्नै स्वामित्वमा व्यापार गर्ने महिलाको अनुपात भने अझै कम छ। व्यापारमा महिला संलग्नता बढ्दै गए पनि स्वामित्व भने कम देखिएको छ।

महिलाहरू सीमित घेरामा बस्नुपर्छ भन्ने मान्यता विस्तारै कम हुँदै गएको पनि सर्वेषणले देखाएको छ। महिलामा स्वअस्तित्व र आर्थिक चेतनाजस्ता कारणले पनि व्यापार व्यवसायमा उनीहरूको संलग्नता बढाएको हो। सुदूरपश्चिममा थोक तथा व्यापार गर्ने ३३ हजार ३ सय ९८ व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेकोमा ३२ दशमलव ४७ प्रतिशत महिला जनशक्ति संलग्न छन्।

कमेन्ट लोड गर्नुस