कैलाली कारागारको क्षमता १५०, तर हुँलिए ७२०
धनगढीः जिल्ला कारागार कैलालीको बन्दी क्षमता एक सय ५० भन्दा बढी छैन्।
तर ७ सय २० जना ठेलमठेल गरेर कारागारभित्र हुँलिएको छ। यो मानव अधिकार विपरीतको कार्य हो। एक सय ५० कैदीबन्दी क्षमताको कारागारमा ७ सय २० जना राख्नु कुनै पनि हिसाबमा कानुन सम्मत नभएको सरोकारवालाको तर्क छ। कारगार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीका अनुसार कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी छन्।
कैदीबन्दी थपिँदै गएपछि कारागार प्रशासनलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको छ। स्थान अभावमा खानपिन, सुत्न र शौचालयको निकै समस्या रहेको कैदीबन्दीले बताएका छन्। एउटै कोठामा कोचिएर सुत्नुपर्ने र शौचालयका लागि पनि लाइन लाग्नुपर्ने अवस्था रहेको एक कैदीले बताए। गर्मीमा अधिक गर्मी, जाडोमा अति जाडो र वर्षातमा भिज्नुपर्ने भएकाले कारागार सुधारगृह नभई यातनागृह बनेको कैदीबन्दी बताउँछन्।
कैदीबन्दी बढी भएपछि सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको बताइएको छ। महिला कैदीबन्दी व्यवस्थापनमा भने खासै समस्या नरहेको तर्क छ। एउटै हलभित्र धेरै कैदीबन्दी कोचिएर बस्नु पर्दा रोगहरूको संक्रमणको खतरा समेत छ। करिब सात दशकअघि बनेको कारागार हाल जीर्ण अवस्थामा छ। कैदीबन्दीको संख्या दिनानुदिन बढ्दै गए पनि कारागारमा नयाँ संरचना थपिन सकेको छैन। वि.सं १९९७ मा १०० जना अटाउने गरी निर्माण गरिएकोे कारागारमा हाल ७ सय २० जना कैदीबन्दी छन्।