सुदूरपश्चिममा सवारीसाधन व्यापारमा यस्तो छ ‘मार्जिन’
वीरेन्द्र भट्ट, धनगढीः व्यापारमा सबैभन्दा बढी मार्जिन सवारीसाधनमा हुने गरेको सरकारको सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणले सवारीसाधनमा सबैभन्दा धेरै मार्जिन हुने गरेको देखाएको हो। सवारीसाधन विक्री र मर्मतमा कुन प्रदेशमा कति मार्जिन छ भन्ने पनि सर्वेक्षणमा देखाइएको छ। जसअन्तर्गत सुदूरपश्चिमका व्यापारीले २३ दशममलव शून्य ८ प्रतिशत सवारीसाधन विक्री र मर्मतमा राख्ने गरेको सर्वेक्षणले देखाएको छ।
साथै प्रदेशका व्यापारीले १८ दशमलव ३६ प्रतिशत मार्जिन लिएर कारोबार गर्दै आएका छन्। कार्यालयले १५ हजार तीन सय थोक तथा खुद्रा व्यापारिक प्रतिष्ठानको अध्ययनका आधारमा औषत मार्जिन निकालेको हो। अध्ययनमा व्यापारिक प्रतिष्ठानबाट भएको पुँजी निर्माण, वस्तु तथा सेवा विक्री गर्दा रहने मार्जिन, रोजगारी ज्यालाको अवस्था लगायत विषय हेरिएको छ। २०६५ पछि गरिएको यो दोस्रो अध्ययन हो।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार सुदूरपश्चिम प्रदेशभित्र ३३ हजार तीन सय ९८ व्यापारिक प्रतिष्ठानमा ६६ हजार ९ सय ५७ जनशक्ति संलग्न छन्। उक्त जनशक्ति खुद्रा, होलसेल व्यापारमा छन्। भन्सारबाट आयातित, स्वदेशी उद्योगले उत्पादन गरेका वस्तु र कृषि उत्पादनको व्यापार उक्त जनशक्ति संलग्न रहेको कार्यालयले जनाएको छ।