कैलालीको लम्कीचुहाले खरिद गर्यो २ वटा महाप्रस्थान यान
धनगढी : कैलालीको लम्की-चुहा नगरपालिकाले २ वटा महाप्रस्थान यान खरिद गरेको छ। नगरपालिकाले ४१ लाख ९३ हजार आठ सयका २ वटा मिनी ट्रक खरिद गरिएको हो।
नगरपालिकाले बोलपत्र मार्फत खरिद गरेका मिनी ट्रकलाई महाप्रस्थान यान (शव बाहन) बनाइएको छ। नगर प्रमुख सुशीला शाहीले २ वटा शव बाहनले सेवा दिने बताइन। लम्की चुहा नगरपालिकाका नागरिकलाई चिसापानी आर्यघाटसम्म शव बोक्नका लागि यान प्रयोग गरिने छ। नगरपालिकाले आफ्ना नागरिकको अन्तिम यात्राका लागि निः शुल्क सवारी सहयोग गर्ने भएको हो। नगर प्रमुख शाहीले भनिन्, ‘जनताले कर तिर्नु भएको छ। हामीले निर्वाचनको समयमा नै भनेका थियौ। पटक पटक बोलपत्र आह्वान गरेका थियौ। तर, बोलपत्र नपरेकाले ढिलो भएको छ। अब नागरिकले निः शुल्क शव बाहन प्रयोग गर्न पाउनेछन्।
लम्की-चुहा नगरपालिका भित्रका नागरिकको मृत्यु भएपछि चिसापानी आर्यघाटसम्म लैजान निः शुल्क सवारीको सुविधा दिन थालिएको हो। कर्णाली आर्यघाटसम्म नागरिकको मृत्यु भएपछि शव बोक्न महाप्रस्थान यान सहयोग गरिने नगरपालिकाले बताएको छ। तर, लम्की चुहा नगरपालिका बाहिरका नागरिकको हकमा सेवा दिने वा नदिने भन्ने विषयमा नगर सभामा छलफल भएको छैन। नगर सभाबाट महाप्रस्थान यान सञ्चालन कार्यविधिसमेत तयार गर्ने योजनामा नगरपालिका रहेको छ।