सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा नगरपालिकाबाटै नदीजन्य पदार्थको अवैध उत्खनन्

२०८० माघ २१, ०६:५१ नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले जथाभावी नदी उत्खनन् गर्न थालेको छ।

नगरपालिकाले स्थानीय गोदावरी, खैराला र खुटिया नदीबाट मापदण्ड विपरीत ढुङ्गा, बालुवा र गिट्टी संकलन गरिरहेको पाइएको हो। नगरपालिकाले एक प्याकेजमा गोदावरी र खैराला खोला र अर्को प्याकेजमा खुटिया नदीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन् गर्न ठेक्का दिन अहिलेसम्म तीनपटक सूचना निकाले पनि ठेक्का लाग्न सकेको छैन। खोलाहरू ठेक्कामा नलागेपछि नगरपालिकाले गत असोजदेखि अमातमा आफैं राजश्व संकलन गरिरहेको छ।

तर, नगरपालिकाको संलग्नतामा गोदावरी, खैराला र खुटिया नदीमा व्यापक दोहन भएको स्थानीयको गुनासो छ। स्थानीयले विरोध गर्दा पनि जथाभावी उत्खनन् नरोकिएको गोदावरी–४ का स्थानीय मोहनबहादुर खत्रीले बताए। ‘हामीले विरोध गर्दा पनि खोलामा जेसिबी हाल्न रोकिएको छैन। जथाभावी उत्खनन्ले बस्ती जोखिममा छ। खानेपानी नलमा आउन छोडेको छ,’ उनले भने, ‘नियमअनुसार उठाउनु त ठिकै हो तर गत वर्षदेखि शाखा खोलाहरूमा पनि मसिन लगाएर उत्खनन् गर्ने काम भएको छ।’

गोदावरी नगरपालिकाले गत असोज २३ गतेदेखि पालिकाका तीनवटा खोलाबाट अमानतमा आफैले नदीजन्य वस्तु निकासीको राजश्व संकलन गरिरहेको छ। तीन पटकसम्म सार्वजनिक सूचना गर्दा पनि ठेक्कामा लाग्न नसकेपछि नगरपालिकाले आफैले कर्मचारी खटाएर गोदावरी, खैराला र खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको राजश्व संकलन गर्न थालेको हो। तर तीनवटै खोलामा मापदण्ड विपरीत जथाभावी उत्खनन् भइरहेको स्थानीको गुनासो छ।

नगरपालिकाको वडा नम्बर ४ हुँदै बग्ने खैराला खोलामा जथाभावी उत्खनन् भइरहेकाले गाउँ नै जोखिममा रहेको स्थानीय विस्नाकुमारी कडायत साहुले बताइन्। ‘टाकुराबाट त्यो फुटेर आएपछि हाम्रो गाउँ नै लैजाने हो। अहिले सोचेका छैनन् उहाँहरूले, खल्तीमा मात्रै हेरिरहेका छन्,’ उनले भनिन्, ‘यो खोला फुटेपछि हाम्रो गाउँ नै जाने हो।’ स्थानीयले एक्स्काभेटर र डोजर लगाएर खोला उत्खनन् नगर्न गरेको आग्रह नगरपालिकाले नटेरेको बताएका छन्।

गोदावरी, खैराला र खुटिया नदीका उत्खनन् गर्दा नदीको छेउबाटै नदीजन्य पदार्थ उठाएको, मापदण्ड विपरीत गहरो खल्डा बनाएर उत्खनन् गरिएको देख्न सकिन्छ। नगरपालिकाले गाउँ, बस्ती र खेतीयोग्य जग्गालाई जोखिम हुने गरी नदी उत्खनन् गर्न नहुने खैरालाका स्थानीय शेरबहादुर बिष्टको भनाइ छ। ‘विकास गर्न नदीजन्य पदार्थ उत्खनन् गर्नै पर्छ।

तर गाउँबस्तीलाई नै जोखिममा पारेर खेतीयोग्य जमिनलाई नै प्रभाव पार्ने गरी यसरी नदीजन्य पदार्थ उत्खनन् गर्दा यसले गाउँलाई प्रभावित पार्छ,’ बिष्टले दिनेशखबरसँग भने। गोदावरी नदीको तीन ठाउँबाट नगरपालिकाले उत्खनन् गरिरहेको छ। गोदावरी नदीमा ठाउँ–ठाउँमा गहिरा खाल्डा खनेर बालुवा र गिट्टी झिक्ने काम भएको देख्न सकिन्छ। नदीमा पाँचवटा एक्स्काभेटर लगाएर उत्खनन् भइरहेको छ।

प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनका १ देखि ३ मिटर गहिरो खन्न पाउने व्यवस्था भए पनि त्योभन्दा गहिरो खनेर नदीबाट जथाभावी प्राकृतिक स्रोत दोहन गर्ने काममा नगरपालिका प्रत्यक्ष संलग्न रहेको नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका स्थानीय गोकर्ण भट्टले बताए। ‘नगर प्रमुखले यहाँ विनास गरिरहेका छन्। उहाँको सिधैं संलग्नता छ। यो भन्दा पहिले ठेक्काबाट काम हुन्थ्यो,’ उनले भने, ‘जबदेखि बिरेन्द्र भट्ट नगर प्रमुख भएर आए उहाँले अमानतमा आफैंले ठेक्का लगाउने, आफ्ना कार्यकर्ता भर्ती गर्ने, आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने काम उहाँले गरिरहनुभएको छ।’

गोदावरी नगरपालिकाले आइई रिपोर्ट विपरीत नदी उत्खनन् गर्न प्रोत्साहन मात्रै होइन् प्रत्यक्ष संलग्नतामा मापदण्ड विपरीतका गतिविधि भइरहेको स्थानीयको भनाइ छ। नगरपालिकाले स्थानीय व्यवसायीलाई मनलाग्दी किसिमले नदीबाट ढुङ्गा, माटो, बालुवा र गिट्टी उठाउन दिएको नगरवासीको गुनासो छ। तर, नगरपालिकाले अनुगमन समिति बनाएर नियमित अनुगमन भइरहेको जनाएको छ।

मापदण्डअनुसार नै नदीजन्य पदार्थ उत्खनन् गर्न भनिए पनि कुनै कुनै ठाउँमा मापदण्ड विपरीत काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले स्वीकार गरेका छन्। ‘नगरपालिकाबाट अनुगमन समिति गठन गरिएको छ। मैले स्वयम् आफै पनि अनुगमन गर्ने गरेको छु। हामी नभएको बेला मापदण्ड मिचिएको पमइएको छ। तर त्यसलाई रोक्न लगाइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने। नगरपालिकाले नदीमा भइरहेको उत्खननको अनुगमन गर्न पाँच सदस्यीय खोलानाला अनुगमन समिति गठन गरिएको छ। वडा नम्बर २ का सदस्य देवराज भट्टको संयोजकत्वमा गठित समितिमा वडा सदस्यहरू गम्भीर साउँद, चन्द्र बिसी, तारा छेडाल र धनी कामी सदस्य छन्। तर, गठित समितिले जथाभावी भइरहेको उत्खननलाई रोक्न भने सकेको छैन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस