सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिंसापीडितको पहिलो भर ‘ओसीएमसी’, सेतीबाट १३१ बलात्कारपीडितलाई सेवा

२०८० माघ १८, ०९:२९ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट सेवा लिनेको संख्या बढ्दै गएको छ।

ओसिएमसीबाट जबरजस्ती करणी, शारीरिक र अन्य हिंसा पीडितलाई निःशुल्क उपचार तथा परामर्श दिने काम हुँदै आएको छ। सेती अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) बाट सेवा लिने लैङ्गिक हिंसाप्रभावितको संख्या बढ्दै गएको हो। लैङ्गिक हिंसाप्रभावितलाई एकीकृत र प्रभावकारीरुपमा एकै स्थानबाट सेवा दिने उद्देश्यले पाँच वर्षअघि सेती अस्पतालमा ओसिएसी स्थापना गरेर सञ्चालनमा ल्याइएको हो।

लैङ्गिक हिंसाका कारण शारीरिक, मानसिक, यौनजन्य, आर्थिक तथा सामाजिक समस्यामा परेका व्यक्तिलाई केन्द्रबाट उपचार, मनोपरामर्श र कानुनीलगायत सेवा दिइने गरेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) का फोकल पर्सन मिना चन्दले बताइन्।

‘ओसिएमसीबाट लैङ्गिक तथा अन्य हिंसा पीडितले निःशुल्क उपचार, मनोपरामर्श सेवा र कानुनी सेवा पाउने गरेका छन्। साढे तीन वर्षको तथ्याङ्क हेर्दा सेती प्रादेशिक अस्पतालको ओसिएमसीबाट सेवा लिनेको सङ्खया बर्सेनि बढिरहेको छ,’ चन्दले भनिन्। हिंसाप्रभावितलाई एकै ठाउँबाट सेवा दिने उद्देश्यले सरकारले सरकारी अस्पतालमा ओसिएमसी स्थापना गरेको हो।

ओसिएमसीबाट पीडितको स्वास्थ्य उपचारसँगै मनोपरामर्श, कानुनी परामर्श र सहयोग, सुरक्षा तथा पुनर्स्थापनामा सहयोग गर्ने गरिएको छ। त्यस्तै हिंसा प्रभावितलाई बस्ने र खाने व्यवस्थासमेत ओसिएमसीबाट हुने गरेको चन्दले बताइन्।
सेती प्रादेशिक अस्पतालको ओसिएसीबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३३५ जना प्रभावितले सेवा लिएका छन्।

तीमध्ये १३१ जना बलात्कारपीडित, ७९ जना शारीरिक हिंसा, ३१ जना यौनजन्य हिंसा र १६ जना मानसिक हिंसापीडितलाई सेवा प्रदान गरिएको छ। यो अवधिमा बालविवाह गरेका ५ जना र स्रोतसाधनबाट वञ्चित गराइएका ४८ जना प्रभावितलाई सेवा दिइएको छ। २५ जना पीडितलाई ओसिएमसीले सुरक्षित आवास गृहमा पठाएको छ।

ओसिएमसीबाट आर्थिक वर्ष २०७९/८० मा तीन सय दुई जना प्रभावितले सेवा लिएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा २४३ जनाले उपचार, तथा कानुनीलगायत सेवा लिएका छन्। यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा १०९ जना र आर्थिक वर्ष २०७६/७७ मा ९६ जनाले उपचार तथा कानुनी सेवा लिएको तथ्याङ्क छ। सेवा लिनेमध्ये आफै थाहा पाएर आउनेभन्दा पनि प्रहरीबाट आउने पीडितको संख्या बढी हुने गरेको छ। 

ओसिएमसीबाट प्रभावितलाई निशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि, मनोसामाजिक परामर्श र सुरक्षा, कानुनी परामर्श तथा सहयोग, आवश्यकताअनुसार सुरक्षालगायत सेवा दिइन्छ। त्यस्तै प्रभावितको पुनर्स्थापनाका लागि पनि सहयोग गरिन्छ। यसैगरी, प्रहरीले पक्राउ गरेका पीडकलाई चोटपटक लागेको अवस्थामा पनि ओसिएमसीबाट उपचार गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएसी) का फोकल पर्सन चन्दले बताइन्।

सरकारी अस्पतालमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्रबाट यौन हिंसा, शारीरिक हिंसा, मानसिक र अन्य दुर्व्यवहारमा परेका व्यक्तिले निःशुल्क उपचार, परामर्श सेवा र पुनर्स्थापना सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। पीडितहरूलाई २४ सैं घण्टा ओसिएमसीबाट सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ भने उनीहरूको गोपनियता भङ्ग नहुने व्यवस्था कायम गरिएको ओसिएसीकी फोकल पर्सन चन्दले बताइन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस