गोदावरी नगरपालिकाको मिलेमतोमा नदीजन्य पदार्थको तस्करी
धनगढीः कैलालीको गोदावरी नगरपालिकाको मिलेमतोमा नदीजन्य पदार्थको तस्करी हुँदै आएको पाइएको छ। नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको मिलेमतोमा तस्करीहरूले बालुवा, गिट्टी र ढुङ्गा डोजर प्रयोग गरेर सङ्कलन तथा विक्री गर्दै आएका हुन्।
गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का सम्झौता गरेको छैन। तर, नदीमा डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै आएको हो। नगरपालिकाका नदीजन्य पदार्थको कर सङ्कलनका लागि गठन गरिएको समितिका संयोजक रहेका देवराज भट्टले १५ हजार जेसिबीबाट र एक्स्काभेटरबाट २० हजारका दरले मासिक कर लिने गरेको बताए। यता, कार्यपालिकाको बैठकबाट ठेक्का सम्झौता नभएसम्मका लागि २४० रुपैयाँ प्रति घनमिटरका दरले नदीजन्य पदार्थ विक्री गर्ने निर्णय गरेको छ। कार्यपालिकाले नगरपालिकाबाट कर्मचारी परिचालन गरेर प्रति घनमिटरको २४० रुपैयाँमा नदीजन्य पदार्थ विक्री गर्ने निर्णय गरेको हो। तर, कर्मचारी र जनप्रतिनिधिहरू तस्करसँग मिलेर मनोमानी रूपमा नदीमा डोजर प्रयोग गर्न दिने गरेका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ९ मा रहेको लक्ष्मी महिला सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले जनप्रतिनिधि, कर्मचारी र तस्करहरू मिलेर नदीको दोहन गर्न थालिएको बताइन। उनले भनिन्, ‘नदीमा पहिला तीन फिटसम्मको बालुवा खनिएको हुन्थ्यो। अहिले ९/१० फिटका खाल्डा छन्। नदीबाट कति मात्राको बालुवा उठाउने कुनै हिसाब छैन। हामीले वडाध्यक्षसहितका जनप्रतिनिधिलाई भनेका थियौ। तर कुनै सुनुवाइ भएको छैन। उहाँहरूले कर पनि दिनु भएको छैन। सयौँको सङ्ख्यामा ट्याक्टर, ट्रिपरहरूले बालुवा बोक्दै आएका छन्। हाम्रो खोलामा मात्र तीन वटा डोजर छन्।’
कैलालीको गोदावरी नगरपालिकाले भदौमा १३ करोडमा तीन खोलाको नदीजन्य पदार्थ सङ्कलन तथा विक्रीका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको थियो। तर, कुनै पनि कम्पनीहरूले बोलपत्र खरिद गरेनन्। अहिलेसम्म नगरपालिकाले चार पटक बोलपत्रका लागि सूचना सार्वजनिक गरेको छ। सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दनका लागि सूचना सार्वजनिक गरिएको थियो। फेरि माघ ९ गते चौथो पटक एक महिना समय दिएर विद्युतीय बोलपत्रको सूचना सार्वजनिक भएको छ। नगरपालिकाका अनुसार सात करोड ५२ लाख न्यूनतम शुल्क रहने गरेर चौथो पटक सूचना सार्वजनिक गरिएको हो। नगरपालिकाले कुनै पनि कम्पनीले बोलपत्र खरिद नगरेको भन्दै चौथो पटक सूचना सार्वजनिक गरेका बेला कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य पदार्थको तस्करी हुँदै आएको छ। घाटहरूमा खटिएका कर्मचारीले प्रति घनमिटर २४० रुपैयाँ राजस्व सङ्कलन गर्न कार्यपालिकाले भनेको छ। तर, कर्मचारी, जनप्रतिनिधि र तस्करहरूले मनोमानी रूपमा डोजरहरू प्रयोग गरेर जदीजन्य पदार्थको सङ्कलन तथा विक्री गर्दै आएका हुन्।
नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गरेर निश्चित मात्राको नदीजन्य पदार्थ विक्रीका लागि ठेक्का सम्झौता गर्नुपर्ने हो। नगरपालिकाले आईईई गरेका क्षेत्रमा मात्र कम्पनीले नदीजन्य पदार्थको उत्खनन गर्ने हो। तर, गोदावरीमा ठेक्का नभएको मौकामा तस्करहरूले मनोमानी रूपमा नदीको दोहन गर्दै आएका हुन्। कैलालीका प्रमुख जिल्ला अधिकार धर्मेन्द्र कुमार मिश्रले गैरकानुनी नदीजन्य पदार्थको तस्करी रोक्न प्रहरीलाई निर्देशन दिने बताए। उनले खोला तथा नदीहरूमा डोजर प्रयोग गर्न नहुने बताएका छन्।
खुटिया, गोदावरी र खैराना खोलाबाट नगरपालिकाले प्रत्येक वर्ष नदीजन्य पदार्थ विक्रीका लागि बोलपत्र सार्वजनिक गर्ने गरेको छ। तर, गोदावरीमा प्रत्येक वर्ष बोलपत्रमासमेत मिलेमतो हुँदै आएको आरोप लाग्ने गरेको छ।
कैलालीको खुटियामा नदीजन्य पदार्थको अवैध दोहन, डोजर लगाएर तस्करी