सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटियामा नदीजन्य पदार्थको अवैध दोहन, डोजर लगाएर तस्करी

फाइल फोटो
फाइल फोटो
२०८० माघ १६, ०६:३७ कमल सावद

धनगढीः कैलालीको खुटिया नदीबाट दैनिक रूपमा नदीजन्य पदार्थको तस्करी हुने गरेको छ।

गोदावरी नगरपालिकाको वडा नम्बर ९ क्षेत्रमा पर्ने खुटिया नदीबाट दैनिक रुपमा नदीजन्य पदार्थको तस्करी भइरहेको छ। गोदावरी नगरपालिकाले खुटियाबाट नदीजन्य सामाग्री उत्खननका लागि ठेक्का सम्झौता नगरेको भए पनि तीनवटा डोजरको प्रयोग गरेर नदीजन्य पदार्थ तस्करी हुँदै आएको छ। गोदावरी नगरपालिका–९ मा रहेको लक्ष्मी महिला सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले दैनिक सयौँको सङ्ख्यामा ट्याक्टर र ट्रिपर नदीमा जाने गरेको गुनासो गरेकी छन्। उनले गोदावरी नगरपालिकाले ठेक्का सम्झौता नगरेको भए पनि नदीबाट अवैध उत्खनन् जारी रहेको बताइन्। उनले भनिन्, ‘सामुदायिक वन क्षेत्रको नदीमा अघिल्ला वर्षहरूमा तीन फिटको मात्र नदिजन्य पदार्थ उत्खनन हुँदै आएकोमा अहिले सात फिटसम्म खाल्डा पारिएका छन्।

नदीमा तीनवटा डोजर छन्। वडामा कर समेत बुझाएका छैनन्। आफुअनुकुल नदीबाट तस्करी हुँदै आएको छ। गाउँ कटानको जोखिममा छ। सडक पूरै बिग्रिएको छ।’ गोदावरी नगरपालिका क्षेत्रमा पर्ने खुटियाबाट धनगढी र अत्तरियासम्म नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ। नगरपालिकाले खुटिया खोलाको ठेक्का नगरेको भए पनि तस्करी हुँदै आएको स्थानीयको गुनासो छ।

सामुदायिक वन र स्थानीयले विरोध गर्दा पनि तस्करी नरोकिएको दाबी छ। यता, गोदावरी नगरपालिकाका संयोजक देवराज भट्टले मासिक जेसिबिको १५ हजार र स्काइभेटरको २० हजार रुपैयाँ कर लिएर नदीबाट नदीजन्य वस्तु उत्खनन गर्न अनुमती दिएको बताए। उनले भने, ‘हाम्रो ठेक्का भएको छैन।

ठेक्का नभएसम्मका लागि १५ हजार जेसिबी र २० हजार स्काईभेटरका लागि शुल्क निर्धारण गरिएको छ। उहाँहरूले कतिवटा गाडी प्रयोग गर्ने कुनै ठेगान छैन। हामीले डोजरको मात्र मासिक पैसा लिने हो।’ नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन (इआए) गरेको क्षेत्रबाट मात्र नदीजन्य पदार्थ सङ्कलन हुने गरेको उनको दाबी छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस