सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा

२०८० माघ १५, ०४:०५ खबर संवाददाता

काठमाडौँः नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

आज काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो। लगातार सातौँ जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो।

पुलिसको लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए। गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८ ओभर तीन बलमा एक सय ७० रनमा अल आउट भएको थियो। गण्डकीका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। पुलिसका राशिद खानले ५ विकेट लिए। पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्ष स्थानमा छ। पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस